काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा क्रान्तिकारी र प्रतिक्रान्तिकारी शक्तिहरू आमनेसामने भएको बताएका छन्। उनले शनिवार पेरिस डाँडामा शहीद प्रतिष्ठान नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अबको संघर्ष समाजवादी क्रान्ति र साम्राज्यवादबीच केन्द्रित हुने बताए।
उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट आएको उल्लेख गरे। सबै देशभक्त र वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वानसमेत गरे।
‘अहिले हामी साम्राज्यवादसँग सीधै आमनेसामने छौँ। अब प्रश्न छ, समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने,’ उनले भने
गणतन्त्रपछिका सरकारहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दा निराशा छाएको स्विकार्दै दाहालले हाल भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका युवाहरू क्रान्तिका नयाँ उत्तराधिकारी भएको बताए।
‘उनीहरूले देखाएको आक्रोशले समाजवादी क्रान्ति टाढा छैन भन्ने संकेत गरेको छ,’ उनले भने। शान्ति प्रक्रियाका कामहरू अझै अधुरो रहेको बताउँदै उनले जनयुद्ध र जनआन्दोलनका सपना पूरा गर्न अन्तिम संघर्ष आवश्यक रहेको उल्लेख गरे।
उनले प्रतिक्रान्तिको खतरालाई परास्त गर्न र समाजवादी क्रान्तिको तयारी गर्न एकताबद्ध हुनुको विकल्प नरहेकोमा जोड दिए।







