काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-७ रामकोटमा निर्माण गरिएको बद्रीनारायणधाममा आज ‘हरिबोधनी एकादशी मेला’ लागेको छ ।
बद्रीनारायणधाम मेला आयोजक मूल समारोह समितिको आयोजनामा पहिलो पटक यहाँ एकादशी मेला लागेको हो । उक्त मेलामा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
नारायण पोखरेल प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष दिनबन्धु पोखरेलले परापूर्व कालदेखि हरिबोधनी एकादशीका दिन उपत्यकाका चार नारायणको दर्शन गर्ने परम्परा चलिआएको बताउँदै बद्रीनारायणधाम पाँचौँ धामका रूपमा विकास भएको जानकारी दिए। यस धाममा पहिलो पटक एकादशी मेला आयोजना गरिएको उनको भनाइ छ ।
“धार्मिक पर्यटनका लागि बर्सेनि हजारौँ भक्तजन विभिन्न क्षेत्रको यात्रामा निस्किरहेको अवस्थामा नेपालमै बद्रीनारायणधाम निर्माण गरेका हौँ”, पोखरेलले भने। उनका अनुसार पण्डित स्व नारायण पोखरेलको स्मृतिमा स्थापित नारायण पोखरेल प्रतिष्ठानले रामकोटमा उक्त धाम निर्माण गरेको हो ।
धामको गत वैशाख १९ गतेदेखि २७ गतेसम्म प्राण प्रतिष्ठा गरिएको थियो । रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त धामभित्र सात करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण गरिएको छ । धामभित्र आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायत संरचना निर्माण भइरहेका प्रतिष्ठानका अध्यक्ष पोखरेलले जानकारी दिए ।
स्व नारायण पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय हुन् । उनले भौतिक विकास नभएसम्म समुन्नत मुलुक निर्माण हुन सक्दैन भन्ने मान्यता राख्दै आएका थिए । उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण भएको छ ।







