काठमाडौँ। ठूलो संख्यामा कर्मचारी कटौती गरेको मेचीनगर नगरपालिका आफ्नै निर्णयबाट पछि हटेको छ। सोमबार बसेको कार्यपालिका बैठकले यसअघि कटौती गरिएका एक सय ३८ कर्मचारीलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो।
यसअघि, संघीय सरकारको निर्णय कार्यान्वयन गर्ने भन्दै गत असोज २९ मा बसेको कार्यपालिका बैठकले १ कात्तिकदेखि एक सय ३८ कर्मचारीलाई हाजिरी नगराउने निर्णय गरेको थियो। उक्त निर्णयको चौतर्फी विरोध भएको थियो भने, निष्कासनमा परेका कर्मचारीहरूले नगरको मुख्य गेटमा धर्ना दिँदै आएका थिए।
नगरले त्यस बेला नेपाल सरकारको प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी अनुसार मात्र कर्मचारी राख्न पाइने, मन्त्रालयको परिपत्रका साथै नगर कार्यपालिकाको असोज २९ को निर्णय बमोजिम अस्थायी, करार र ज्यालादारी सेवामा कार्यरत कर्मचारीको म्याद थप तथा करार सम्झौता रद्द गरिएको थियो। अहिले ती सबै कर्मचारीलाई काममा फर्काइएको छ।
मुख्यमन्त्री कार्यालय तथा लोक सेवा आयोगसँग स्थायी दरबन्दी माग गर्ने र स्थायी दरबन्दी आएपछि क्रमशः अस्थायी, करार र ज्यालादारी सेवामा कार्यरत कर्मचारीलाई हटाउने सर्तमा कर्मचारीहरूको पुनर्बहाली गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष मधुसूदन निरौलाले प्रशासनलाई बताए। उनले कर्मचारीहरू आजबाट काममा फर्किसकेको पनि जानकारी दिए।
‘एकैचोटि ठूलो संख्यामा कर्मचारी कटौती गर्दा वडा कार्यालय सञ्चालन र नगरको सेवा प्रवाहमा असर पर्ने देखियो। त्यसैले स्थायी दरबन्दी आएपछि क्रमशः कर्मचारी हटाउने सर्तमा काममा फर्काएका हौँ,’ निरौलाले भने।






