काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा काँग्रेसका पूर्वसांसद राधेश्याम अधिकारीले नेपाली काँग्रेस तीन चौथाइ कम्युनिष्ट भइसकेको भन्दै अब पनि एमालेको पछि लाग्यो भने समाप्त हुने विश्लेषण गरेका छन् ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले कानूनी परामर्शका लागि आयोजना गरेको छलफलमा बोल्दै वरिष्ठ अधिवक्ता अधिकारीले विधानबमोजिम विशेष महाधिवेशन आयोजना गर्न राजनीतिक इच्छाशक्ति भए असम्भव नरहेको बताए ।
उनले भने, ‘नेपाली काँग्रेस ३ चौथाइ कम्युनिष्ट भइसक्यो । काँग्रेस फेरि पनि कम्युनिस्टहरूसँग मिसिन जाँदै छ । फेरि पनि काँग्रेसले एमालेको पछि लाग्यो भने काँग्रेस बाँकी रहँदैन । काँग्रेसले आफूलाई रिभ्यू गर्नुपर्छ । विधानले ४० प्रतिशतभन्दा बढीले एजेन्डासहित विशेष महाधिवेशन माग गर्न मिल्ने भनेकाले यसलाई ९० दिनभित्र केन्द्रीय समितिले कार्यान्वयन गर्नुपर्ने स्पष्ट व्यवस्था हो । विशेष महाधिवेशन केन्द्रीय समितिले सोझै र ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेर आह्वान गर्न सक्छन् । असाधारण अवस्थामा आयोजना हुने भएकोले केन्द्रीय समितिले निर्देशिका बनाएर आयोजना गर्न सक्छ तर चाहिने राजनीतिक इच्छा शक्ति हो । यसमा कानुनी भन्दा राजनीतिक दृष्टि महत्त्वपूर्ण हुन्छ ।’







