काठमाडौँ । जिल्ला कारागार मोरङ चलान गरिएका एक जना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका-४ घर भएका ५७ वर्षीय गंगा लिम्बूको मृत्यु भएको हो ।
प्रहरीका अनुसार लिम्बूलाई अभद्र व्यवहार मुद्दामा गत साउन १४ गते कारागार चलान गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङले उनीसँग धरौटीबापत १० हजार रुपैयाँ मागेका थिए । उनले उक्त रकम बुझाउन नसकेपछि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।
कारागारमा लिम्बूलाई अचानक श्वास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएपछि उनलाई मंगलबार राति ८ बजेतिर कारागार प्रशासनले उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेको थियो । अस्पतालमा उपचाररत अवस्थामा बुधवार बिहान १० बजे उनको मृत्यु भएको हो ।







