स्विट्जरल्यान्ड । स्विट्जरल्यान्डको जेनेभामा मंसिर १ र ३ गते (१७ र १९ नोभेम्बर २०२५) विश्व व्यापार संगठन (डब्लुटिओ) अन्तर्गत नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्पन्न भएको छ। विश्व व्यापार संगठनको माराकेश सम्झौताको अनुसूची ३ अनुसार प्रत्येक सात वर्षमा हुने समीक्षा प्रक्रियाअन्तर्गत नेपालले तेस्रो पटक व्यापार नीतिसम्बन्धी प्रस्तुतिकरण गरेको हो।
समीक्षामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव डा. राम प्रसाद घिमिरेको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो । एक वर्षदेखि जारी तयारीपछि सम्पन्न यस समीक्षामा सचिव डा. घिमिरेले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीप्रति नेपालको दृढ प्रतिबद्धता दोहोर्याउँदै समीक्षा अवधिमा भएका कानुनी, नीतिगत तथा संस्थागत सुधारहरू प्रस्तुत गरे।
समीक्षामा विश्व व्यापार संगठनका ४६ सदस्य राष्ट्रहरूको सक्रिय सहभागिता रहेको थियो। सदस्य राष्ट्रहरूले बहुपक्षीय व्यापार प्रणालीमा नेपालको निरन्तर सक्रियता, व्यापार लागत कमी गर्न उठाइएका कदम, व्यापार विविधीकरणका प्रयास तथा विकासशील मुलुकमा स्तरोन्नतिको तयारीबारे नेपालको योगदानको प्रशंसा गरे।
नेपालले तयारी गरेका दुई मुख्य प्रतिवेदन-सरकारले प्रस्तुत गरेको सरकारी प्रतिवेदन तथा विश्व व्यापार संगठनको सचिवालयले तयार पारेको सचिवालय प्रतिवेदनका आधारमा करिब २० सदस्य राष्ट्रबाट २०० भन्दा बढी लिखित प्रश्नहरू उठाइएका थिए। नेपालले सबै प्रश्नहरूको उत्तर तोकिएको समयमै सचिवालयमा बुझाइसकेको छ।
सचिव डा. घिमिरेले व्यापार तथा लगानीका क्षेत्रमा नीतिगत, कानुनी र प्रक्रियागत सुधारमार्फत लगानीमैत्री वातावरण निर्मित भएको उल्लेख गर्दै व्यापार लागत घटाउने, विविधीकरण गर्ने, लगानी आकर्षण बढाउने तथा स्तरोन्नति प्रक्रियालाई दिगो बनाउन विश्व व्यापार संगठन र सदस्य राष्ट्रहरूको निरन्तर सहयोग आवश्यक रहने विश्वास व्यक्त गरे।
उनले तेस्रो समीक्षाको क्रममा प्राप्त सुझाव र प्रतिक्रियालाई आत्मसात् गर्दै आगामी दिनमा नेपालको व्यापार तथा लगानी क्षेत्रका सुधारलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।







