काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा सर्वोच्च अदालतको उच्चस्तरीय टोली दुई दिनपछि भारत भ्रमणमा जाँदै छ ।
भूषण रामकृष्ण गवाईको अवकाशपछि नवनियुक्त प्रधानन्यायाधीश सूर्यकान्त शर्माको शपथ ग्रहण समारोहमा भाग लिन टोली शनिबार भारतको नयाँ दिल्ली जान लागेको हो ।
प्रधान न्यायाधीश राउत नेतृत्वको टोलीमा सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, मुख्य रजिष्ट्रार विमल पौड्याल लयागतहरू छन् ।
सरकारले मंगलबार मात्रै मन्त्रिपरिषद् बैठकबाट उद्योग मन्त्री अनिलकुमार सिन्हालाई भारत भ्रमणको अनुमति दिएको छ ।
मन्त्रिपरिषद्ंबाट स्वीकृत कार्यक्रम अनुसार उनी ८ मंसिरमा राष्ट्रपति भवनमा हुने नवनियुक्त प्रधान न्यायाधीशको शपथ ग्रहण कार्यक्रममा भाग लिनेछन् र पर्सिपल्ट अर्थात् १० मंसिरमा सर्वोच्च अदालतमा आयोजना हुने संविधान दिवसको कार्यक्रममा सहभागी हुनेछन् ।
सिन्हा सर्वोच्च अदालतको संवैधानिक इजलासमा समेत बसेर अवकाश भएका न्यायाधीश समेत हुन् । तीन साता अघिमात्रै प्रधानन्यायाधीश राउत, बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा लगायतको टोलीले बंगलादेशको भ्रमण गरेको थियो ।
सर्वोच्च अदालतका एक न्यायाधीशले सिलसिलेवार रूपमा भइरहेका भ्रमणप्रति असन्तुष्टि जनाउँदै भ्रमण स्थल र एजेण्डाबारे न्यायाधीशहरू सजग हुनुपर्ने टिप्पणी गरेका छन् ।
गत वर्षको प्रदर्शनका कारण बंगलादेश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । सडक प्रदर्शनले त्यहाँ प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका ९ जनाले राजीनामा दिएका थिए । कुनै कार्यक्रम वा औपचारिक सन्दर्भविना प्रधानन्यायाधीश राउत यसअघि बंगलादेश पुगेका थिए ।
अहिलेको भ्रमणमा पनि त्यसैगरी प्रश्न उठ्न सक्ने ती न्यायाधीशले बताए । उनका अनुसार, छिमेकी मुलुकमा प्रधानमन्त्री नियुक्त हुँदा शपथग्रहणमा मित्रराष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाउने अभ्यास भएपछि प्रधानन्यायाधीशले शपथ लिँदा छिमेकी समकक्षीहरूलाई आमन्त्रण गर्ने अभ्यास छैन ।
दुवै कार्यक्रममा प्रधान न्यायाधीश राउतसहित सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश मल्ल समेत सहभागी हुँदै छिन् । नेपालको संविधानमा प्रधान न्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम न्यायाधीश कामु प्रधान न्यायाधीशको जिम्मेवारीमा हुने व्यवस्था छ ।







