काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बूढीगंगा नदीमा पक्की पुल र निर्माणाधीन मालागाड पुलको काम अगाडि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।
त्रिवेणी नगरपालिका-४ तोलीमा आजदेखि सुरु भएको बडीमालिका मष्टो देवल ज्ञान विज्ञान धार्मिक महायज्ञको उद्घाटनका लागि त्यहाँ पुगेका मुख्यमन्त्री शाहलाई आज बूढीगंगा नगरपालिकाका र नेपाली काँग्रेस त्रिवेणी नगर कार्यसमितिले ज्ञापन पत्र बुझाएका हुन् ।
बूढीगंगा नदीमा पक्की पुल निर्माणको ठेक्का लागिसके पनि काम अगाडि नबढेको भन्दै तत्काल कार्य काम गर्ने वातावरणका लागि आग्रह गरिएको छ । मालगाडमा पुल निर्माणाधीन अवस्थामा रहे पनि विभिन्न कारणले काम सम्पन्न नभएको भन्दै ध्यानाकर्षण गराइएको छ ।
बूढीगंगा नगरपालिका प्रमुख रामबहादुर बानियाँले बुझाइएको पाँच बुँदे ज्ञापन पत्रमा तीन वटा नगर गौरवका सडक निर्माणका लागि बजेट, बार्जुकोट दरबार पुनर्निर्माण र संरक्षणका, कुँडीकोट र बयालचाका दरबार संरक्षण लागि विशेष व्यवस्थापन गर्नुपर्ने, धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका र नाटेश्वरी जाने तीर्थयात्रीका लागि फालासैनमा वा बाम्कामा विश्राम स्थल निर्माण गर्नुपर्नेलगायत माग उल्लेख गरिएका छन् ।
मुख्यमन्त्री शाहले ज्ञापन पत्रमा भनिएका माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेका र यसका लागि आवश्यक समन्वय तथा सहकार्य गरिने बताए ।







