काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र राष्ट्रिय किताबखाना (निजामती) बीच सेवाको अन्तरसम्बन्ध विस्तार गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।
महानिर्देशक नमराज घिमिरे र राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले समझदारीपत्रमा हस्ताक्षर गर्दै दुवै संस्थाबीच सेवा एकीकृत गर्ने सहमति जनाएका छन्।
यस समझदारीअनुसार अब राष्ट्रिय परिचयपत्रमा दर्ता भएका व्यक्तिहरूको डिजिटल आइडी राष्ट्रिय किताबखानाले प्रयोग गर्न सक्नेछ। दुवै संस्थाका प्राविधिक टोलीले प्रणालीको अन्तरक्रियाशीलता विकास गरेपछि किताबखानाले व्यक्तिको बायोमेट्रिक पहिचान सोझै प्रयोग गर्न सक्ने व्यवस्था हुने भएको छ।
यसले किताबखानाको सेवा प्रवाहमा महत्वपूर्ण सुधार आउने विश्वास महानिर्देशक पोखरेलले व्यक्त गरे। उनले प्राविधिक पक्ष टुंगिएसँगै विद्यमान सेवा प्रणालीलाई क्रमशः फेसलेस बनाउँदै पूर्णतया अनलाइन सेवामा रूपान्तरण गर्ने लक्ष्यसहित अघि बढिरहेको जानकारी दिए।







