काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरवार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको आकस्मिक निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा भए नभएको जानकारी लिए । आगामी २१ फागुनको चुनावपछि आउने नयाँ प्रतिनिधि सभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले तीन सिफ्टमा काम गराउन सहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीलाई पटक पटक निर्देशन दिएका थिए ।
तर, बुधबार उनको आकस्मिक अवलोकनमा तीन सिफ्टमा काम भएको पाइएन । निर्देशनअनुसार तीन सिफ्टमा काम गरी निर्माण सम्पन्न नगरेको मन्त्री घिसिङले निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री घिसिङले नियमित सुपरिवेक्षण गर्ने आयोजना व्यवस्थापन र परामर्शदातालाई पनि कारबाही गरिने बताएका छन् । संसद् भवन निर्माण एकदमै महत्त्वपूर्ण भएकाले आगामी चैत अगाडि नै निर्माण सम्पन्न हुनु पर्ने उल्लेख गर्दै मन्त्री घिसिङले उक्त समयमा निर्माण सम्पन्न नभएमा लापरबाही गर्ने सबैलाई कारबाही गरिने चेतावनी पनि दिए ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौँपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदै छ ।







