काठमाडौँ । नेपाल प्रहरीले जेन जेड आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौँको सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौँ बाफलका ३१ वर्षीय विराटप्रसाद जोशी छन् ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आन्दोलनका क्रममा प्रहरीका हतियार लुटपाट गरी लुकाइराखेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले पक्राउ परेकासँग नेपाल प्रहरी लेखिएको पेस्तोल एक थान र विभिन्न कम्पनीका मोबाइल दुई थान बरामद गरेको छ । पक्राउ रसिल जोशी लागु औषध मुद्दामा प्रहरी वृत्त स्वयम्भूमा थुनामा रहेको अवस्थामा जेन जेड आन्दोलनको मौका छोपेर भागेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता आचार्यले बताए ।
पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको सो कार्यालयले जनाएको छ ।







