काठमाडौँ । उज्यालो नेपाल पार्टी घोषणा सभाका प्रमुख अतिथि ऊर्जा मन्त्री कुलमान घिसिङले देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्त्वपूर्ण कुरा भएको बताएका छन् ।
२००७ सालयताको ७५ वर्षमा अनेक पटक विचार र प्रणालीहरू परिवर्तन भए पनि देशमा आर्थिक विकास हुन नसकेको चर्चा गर्दै उनले सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको बताए ।
‘हामीले ७५ वर्षमा धेरै राजनीतिक परिवर्तन हेर्यौँ । राजनीतिक परिवर्तन गर्न हाम्रा नेताहरू सफल देखिनुभयो । तर, आर्थिक क्रान्तिमा असफल बन्नुभयो,’ उनले भने, ‘राजनीतिमा ठुलठुलो भाषण गर्न सक्ने व्यक्ति विकासको नेतृत्व गर्न असफल हुँदै आए । परिणाममुखी राजनीतिक कसैले गरेनन् ।’
उनले २००७ आसपासको समयमा नेपालसँगै भारत र चीनमा राजनीतिक परिवर्तन भएको बताउँदै ७५ वर्षमा उनीहरूले निकै ठुलो आर्थिक विकास गरेको चर्चा गरे ।
‘२००७ सालमा नेपालमा राजनीतिक परिवर्तन आयो । भारत र चीनमा पनि ठुला राजनीतिक परिवर्तन आए । ७५ वर्षमा चीनले आफ्नो जिडिपीको ३५० गुणा र भारतले १५० गुणा वृद्धि गरिसकेको छ,’ उनले भने, ‘नेपालले ७५ वर्षमा ७५ गुणा मात्र वृद्धि गर्न सक्यो । यहीँनेर हामी चुक्यौँ ।’







