काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढाइरहेको बताएकी छिन् । जेन जेड आन्दोलनको मर्मअनुसार सरकार अघि बढिरहेको उनको भनाई छ ।
नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन् ’हामी काम गर्न नै आएको हो। जे सकेको गरिरहेका छौँ। युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरूप जसरी पनि हामीले काम गर्नु छ। यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन। हामी रोकिँदैनौँ।’
अहिले अख्तियारले पनि आफ्नो रफ्तार बढाइरहेको उनको भनाई थियो । ‘तपाईँहरूले समाचारमा पढिरहनु भएकै होला। केही ठुला भ्रष्टाचारका विषय र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरूले कदम चालेका छन्,’ उनले भनिन्।
भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचनाहरू नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको उनको भनाई छ ।
उनले भनिन् ’हामीकहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ। केन्द्रीय अनुसन्धान ब्युरो छ। विगतमा ती निकायलाई प्रभावकारी रूपमा काम गर्न नदिइएको हुन सक्छ। दलीय प्रभाव परेको हुन सक्छ। हामी कुनै प्रकारको दबाब दिँदैनौँ। ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन्। प्रभावकारी ढंगले चल्न सकुन्। समानान्तर रूपमा धेरै संरचना बनाएर मात्र पनि नतिजा आउने होइन। मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो।’
सबै क्षेत्रको अति दलीयकरण हुँदा पनि मुलुकले प्रगति गर्न नसकेको उनको भनाई छ।
‘यहाँ किसानका नाममा पनि राजनीति भयो। किसानले मल पाउँदैनन् तर किसानको नेता देश-विदेश घुमिरहेको हुन्छ। मन्त्री-सांसद बनिरहेको हुन्छ। कार्यकर्ता अघिपछि लगाइरहेको हुन्छ। सहुलियतको मल, बिउ, ऋणसमेत उसैले एकलौटी गरिरहेको हुन्छ। अरू व्यवसाय गर्नेहरूका नाममा पनि राजनीति भयो,’ उनले भनिन्,‘आफ्नो पेसा-व्यवसाय गर्न छाडेर नेतागिरी गर्दै हिँड्ने प्रवृत्ति नै बनेको रहेछ। भ्रष्टाचारको जड यहाँ पनि छ। यस्तो वातावरणमा कसरी देशले उन्नति गर्छु’
यस्तो अवस्था अन्त्यका लागि नै युवाले आवाज उठाएको बताउँदै उहाँले आउँदो चुनावमा युवालाई नै संसदमा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणा राखिन् ।
भेटमा नेता किराँतीसहित प्रतिनिधिमण्डलका अन्य सदस्यले आन्दोलनकारी जेन जेडमाथि एकातिर प्रहरीले धरपडक गरिरहेको र अर्कोतिर केही दलले घोषित रूपमै गुण्डा परिचालन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।







