काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चुनाव हुन दिन्नँ भन्ने छुट जेन जेडलाई नभएको बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो बताएका हुन् ।
उनले महर्जनले घोषित निर्वाचनलाई सफल गराउन जेन जेड लगायत सबैले सहयोग गर्नुपर्ने बताए । अहिले आएर जेन जेडहरुको स्वर परिवर्तन भएकोमा चिन्ता व्यक्त गर्दै मेयर महर्जनले जेन जेडहरु सानै भएकाले बुद्धि पलाइ नसकेको उल्लेख गरेका छन् ।
उनले भने,‘ सम्माननीय प्रधानमन्त्रीज्यूको सरकार छ त्यसको खास काम भनेको फागुन २१ गते चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । तर मलाई चाहिँ अलिकति चिसो यसअर्थमा परिरहेको छ जेनजीले प्रधानमन्त्रीज्यूलाई आमा भन्नुहुन्छ, भनिरहेको छ । तर पछिल्लो कालखण्डमा जेनजीले स्वर परिवर्तन गरेर चुनाव हुन दिन्न भनिरहेको छ । त्यो भन्न पाइँदैन चुनाव गर्नुपर्छ । जेनजीले पछिल्लो कालखण्डमा आएर हामी चुनाव गराउँदैनौ भन्ने किसिमको जुन भाव व्यक्त गरेको छ । त्यो गर्नुहुँदैन । जेनजीहरु सानातिनो भाइबहिनीहरू छन् अलिकति बुद्धि पलाएको छैन बुद्धि पलाओस् । उहाँ आफ्नो आमाले गर्न खोज्नुभएको जुन काम छ त्यसमा सहयोग गर्नैपर्छ ।’
आफ्नो दुई कार्यकालमा महानगरभित्र निकै परिवर्तन गर्न सफल भएको भन्दै उनले अहिले पनि दैनिक रूपमा निरन्तर नयाँ नयाँ काम हुँदै आएको जिकिर गरेका छन् ।







