काठमाडौँ । प्रहरी हिरासतमा रहेका इनम सापकोटाले मानव अधिकार उल्लंघन भएको दाबी गर्दै राष्ट्रिय मानव अधिकार आयोगसमक्ष जीवनरक्षाको माग गरेका छन् । उनकी पत्नी कविता पाण्डेले बुझाएको उजुरी आयोगमा १६४४ नम्बरमा दर्ता भएको छ ।
गत असोज १४ गते नयाँदिल्ली जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएका सापकोटाले आफूलाई दुई दिनसम्म आँखामा पट्टी बाँधेर मानसिक यातना दिइएको आरोप लगाएका छन् ।
पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, काँग्रेस सभापति गगन थापालगायत उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको, जबरजस्ती अडियो रेकर्ड गरिएको तथा एआई प्रविधिबाट नक्कली प्रमाण सिर्जना गरी फसाउन खोजिएको दाबी उजुरीमा गरिएको छ ।
सापकोटाले घर खानतलासी र विदेशी मुद्रा बरामदसम्बन्धी मुचुल्कामाथि समेत प्रश्न उठाउँदै अनुसन्धानका सामग्री सार्वजनिक गरेर आफ्नो गोपनीयता तथा स्वच्छ सुनुवाइको अधिकार हनन गरिएको जिकिर गरेका छन् ।








