चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीको सक्रियतामा भरतपुर महानगरपालिका-७ मा नेपालकै पहिलो जेब्राफिस अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।
नेपाल जेब्राफिस इन नेचर सेन्टर (एनजिन्क) नाम दिइएको उक्त अनुसन्धान केन्द्रको शुक्रबार उद्घाटन गरिएको हो । केन्द्रले नेपालमा पाइने जङ्गली जेब्राफिसको पहिचान, आनुवंशिक विविधताको अभिलेखीकरण तथा संरक्षण गर्दै आधुनिक जैविक अनुसन्धानलाई अघि बढाउने लक्ष्य राखेको छ ।
केन्द्रले अमेरिकाका युनिभर्सिटी अफ ओरेगन र ड्युक युनिभर्सिटीसहित नेपालका कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयलगायत अनुसन्धान संस्थासँग सहकार्य विस्तार गरेको जनाएको छ ।
केन्द्रका अध्यक्ष प्रशान्तकान्त दाहालका अनुसार गत वर्ष अमेरिकी अनुसन्धानकर्ताहरूले चितवनका प्राकृतिक जलस्रोतबाट जङ्गली जेब्राफिसका नमुना संकलन गरी प्रारम्भिक अध्ययन गरेका थिए । आगामी मार्चमा अमेरिकी अनुसन्धानकर्ता तथा प्रतिनिधि पुनः नेपाल आउने कार्यक्रम छ । यसबाट नेपाली विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय वैज्ञानिक र प्रयोगशालासँग प्रत्यक्ष रूपमा जोडिने अवसर पाउने उनले बताए ।
केन्द्रका सचिव सुजन चापागाईंले नेपालमै स्वतन्त्र प्रयोगशाला स्थापना गरेर जेब्राफिसको आनुवंशिक अनुसन्धान गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिए । नदी, खोला, ताललगायत प्राकृतिक जलस्रोतमा रहेका जलीय जीवको वैज्ञानिक अध्ययन र आनुवंशिक विविधता संरक्षण केन्द्रको प्राथमिकतामा रहने उनको भनाइ छ ।
उद्घाटन समारोहमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलले केन्द्रको संस्थागत विकासमा विश्वविद्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । विश्वविद्यालयले शैक्षिक कार्यक्रमसँगै अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, वन तथा वातावरण क्षेत्रका विद्यार्थी र प्राध्यापकलाई अनुसन्धानमा सहभागी गराउनुपर्ने बताए ।
मानव स्वास्थ्यसम्बन्धी विश्वविद्यालय तथा अस्पतालसँगको सहकार्यले अनुसन्धानको क्षेत्र विस्तार गर्न सकिने उनको धारणा थियो ।
उपकुलपति कट्टेलका अनुसार मानवसँग करिब ७० प्रतिशत आनुवंशिक समानता रहेको जेब्राफिस भ्रूण विकास, आनुवंशिक रोग, औषधि परीक्षण तथा जैविक प्रक्रियाको अध्ययनका लागि उपयोगी जीव हो । नेपालका जडीबुटी, प्राकृतिक वनस्पति, जलस्रोत र जैविक विविधताको अध्ययनमा समेत यसको उपयोग गर्दै केन्द्रलाई राष्ट्रियस्तरको अनुसन्धान संस्थाका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा. डा. पुष्करबहादुर पालले दक्षिण एसिया जेब्राफिसको प्राकृतिक उत्पत्ति र बासस्थान क्षेत्र भए पनि नेपालमा यसको प्रजातिगत तथा आनुवंशिक विविधताबारे पर्याप्त अनुसन्धान हुन नसकेको बताए ।
जलवायु परिवर्तन र जल प्रदूषणका कारण जीवको स्वास्थ्य तथा रोग उत्पन्न गर्ने सूक्ष्मजीवमा समेत परिवर्तन आइरहेको उल्लेख गर्दै उनले जेब्राफिसको पारदर्शी भ्रूण, तीव्र विकास र प्रयोगशालामा सहज प्रजनन गराउन सकिने विशेषताले औषधि तथा रोगसम्बन्धी अनुसन्धानमा यसको उपयोग बढेको बताए ।
सरकारी प्रक्रियागत जटिलता र संस्थागत सहकार्यको कमीले वैज्ञानिक अनुसन्धानमा चुनौती थपेको उल्लेख गर्दै पालले केन्द्रलाई व्यावहारिक अनुसन्धानमा केन्द्रित गर्न सुझाव दिए ।
विश्वविद्यालयका पूर्वडीन प्रा. डा. अर्जुनकुमार श्रेष्ठले केन्द्रले भविष्यमा वनस्पति तथा कृषि उपजसम्बन्धी अनुसन्धानलाई समेत समेट्ने विश्वास व्यक्त गरे । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख देवी घिमिरेले नेपालका अन्य माछाका प्रजातिलाई पनि अनुसन्धानमा समावेश गर्नुपर्ने बताउँदै केन्द्रबाट विशेष गरी मत्स्य विज्ञानका विद्यार्थीले प्रयोगात्मक अध्ययनको अवसर पाउने धारणा राखे ।
कार्यक्रममा विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. उज्ज्वल तिवारी, उपप्राध्यापक मिलन घिमिरे, सरोज रेग्मी, चेतराज पाठक, भरतपुर महानगरपालिकाका पशु चिकित्सक डा. रविन बस्ताकोटी, रत्ननगर नगरपालिकाका कृषि प्राविधिक अङ्कित लुइँटेल तथा समाजसेवी बोनोद ढकाललगायत सहभागी थिए । विश्वविद्यालयका विद्यार्थी डा. दिवस ढुङ्गानाले केन्द्रका गतिविधिबारे जानकारी गराएका थिए ।








