काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सरकारी नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सहजीकरण गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘जनताका कुरा सुन्ने’ अभियानअन्तर्गत कास्कीमा आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारका गतिविधिको नियमित निगरानी र कार्यसम्पादनको वस्तुगत मूल्यांकन गर्नुपर्नेमा जोड दिएका हुन् ।
सरकार गठनपछिको करिब आठ महिनामा भएका काम जनअपेक्षाअनुरूप भए/नभएको समीक्षा गर्नुपर्ने उल्लेख गर्दै उनले जिल्ला तथा स्थानीय तहका पार्टी नेतृत्वलाई सरकार र नागरिकबीच सम्पर्कको माध्यम बन्न आग्रह गरे ।
लामो समयदेखि थाती रहेका समस्याको पहिचान र विश्लेषण भइसकेको बताउँदै मन्त्री श्रेष्ठले अब तिनको समाधान गरी परिणाम दिने काममा केन्द्रित हुनुपर्ने धारणा राखे ।
विद्युतमा लाग्दै आएको मूल्य अभिवृद्धि कर ९भ्याट० सम्बन्धी विषय समाधान गर्न पहल भइरहेको जानकारी दिँदै उनले आर्थिक ऐन संशोधनका क्रममा यसको सम्बोधन हुने अपेक्षा व्यक्त गरे ।
स्थानीय सरकारसँगको समन्वयमा ‘ऊर्जामा आत्मनिर्भर पालिका’, एलपी ग्यासमुक्त पालिका तथा फोहोरबाट ऊर्जा उत्पादनसम्बन्धी कार्यक्रम अघि बढाउन पनि उनले पार्टी पङ्क्तिलाई आग्रह गरे ।
मन्त्रालयले अधिकार र बजेट विकेन्द्रीकरणको नीति अपनाएको उल्लेख गर्दै श्रेष्ठले प्रदेश सरकार तथा सम्बन्धित कार्यालयसँग समन्वय गरी विकास आयोजनाको प्रगति र निर्माणको गुणस्तर अनुगमन गर्नुपर्ने बताए ।
व्यक्तिमा निर्भर कार्यशैलीलाई विधि र प्रणालीमा आधारित शासन व्यवस्थामा रूपान्तरण गर्ने प्रयास भइरहेको उनको भनाइ थियो । बजेट कार्यान्वयनका अतिरिक्त विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनले जानकारी दिए ।
कास्कीका फेवा, रुपालगायत तालको संरक्षणका लागि प्रदेश सरकारसँग सहकार्य अघि बढाइएको पनि मन्त्री श्रेष्ठले बताए ।
अन्तरक्रियामा सहभागी पार्टीका नेता तथा कार्यकर्ताले सरकारी कार्यसम्पादन, नागरिकका गुनासा, विकास निर्माण तथा सुशासनका विषयमा मन्त्री श्रेष्ठलाई सुझाव दिएका थिए ।








