काठमाडौँ । नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ।
तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा ठगी मुद्दा दायर गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गत साता नै अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई मुद्दा बुझाएको थियो। सिआइबीले संगठित अपराध र आपराधिक विश्वसघात मुद्दामा पनि अभियोग गर्न सिफारिस गरे पनि सरकारी वकिल कार्यालयले ठगीको मात्र कसुरमा अभियोगपत्र दर्ता गरेको छ । प्रतिवादी बनाइएका शेर्पाको बयान नै नलिई मुद्दा दायर गरिएको हो । पक्राउ नगर्न उनले उच्च अदालतबाट स्टे अर्डर पाएका थिए। तत्कालीन सचिव र सहसचिवलाई भने पक्राउ गरेर पेस गरिएको छ ।
बोलपत्रकै क्रममा सम्झौता रकम घटाएर चार अर्ब ८६ करोड २५ लाख नोक्सान गरेको, तीन तलाको सम्झौता भएकोमा पाँच तला बढाएकाले त्यसबापतको ३८ करोड ८४ लाख ५३ हजार रुपैयाँ नेपाल ट्रस्टलाई घाटा भएकाले त्यसको बिगो कायम गरिएको छ । त्यस्तै, बाटोको तीन आना जग्गासमेत प्रयोग गरेकाले त्यसबापत ५३ लाख ४४ हजार बिगो कायम गरिएको छ ।







