काठमाडौँ । मुलुक बचाउने नागरिक अभियानका प्रमुख युवराज सफलले उच्च अदालत बुटवल इजलासका दुई न्यायाधीशविरुद्ध न्याय परिषद् सचिवालयमा औपचारिक उजुरी दर्ता गराएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिने न्यायाधीशमाथि गम्भीर आरोप लगाउँदै उनले उजुरी दर्ता गराएका हुन् ।
शुक्रबार दर्ता गरिएको उजुरीमा न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेललाई तत्काल निलम्बन गरी कडा कारबाही गर्न माग गरिएको छ। सफलले न्यायाधीशसँग सेटिङ मिलाएर रवि लामिछाने रिहा भएको गम्भीर आरोप लगाएका छन्।
उजुरीमा उल्लेख भएअनुसार रवि लामिछानेले आफू अनुकूल न्यायाधीशको बेन्च पर्नेसम्म पेशी पटक–पटक स्थगित गराएको आरोप लगाइएको छ।
उजुरीमा भनिएको छ, “यदि अनुकूल बेन्च नपरेको खण्डमा सुनुवाइ नगराई पेशी स्थगित गर्ने र अनुकूल बेन्च परेपछि मात्र सुनुवाइ अगाडि बढाउने गरिएको देखिन्छ।”







