काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न चेतावनी दिएका छन्। शनिबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
संयोजक ‘प्रचण्ड’ले सरकारले निर्वाचनको मिति सार्ने वा धकेल्ने काम गर्यो भने चुप लागेर नबस्ने चेतावनी दिएका हुन्।
ʻतपाईँहरू कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला। यदि तपाईँहरूले संविधान बारबार मिच्ने कोसिस नगर्नुहोस्। एकचोटी त मिचिसकेको छ केही हदसम्म, तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हौँ,ʼ उनले भने, ʻतर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्यो भने फेरि संविधान मिचिन्छ। यदि त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौँ।ʼ







