काठमाडौँ । खुला प्रतियोगिताद्वारा प्राविधिक प्रहरी समूहतर्फ प्राविधिक प्रहरी निरीक्षक पदमा नवनियुक्त भएका मध्ये विभागीयतर्फका ७ जना प्राविधिक प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट २०८१ चैत १५ गते प्रकाशित विज्ञापन अनुसार विभिन्न मितिमा प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ जना ७ जना र खुलातर्फ २७ जना गरी कुल ३४ जना प्राविधिक प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् ।
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ पुस ६ गतेको निर्णयले पुस ७ गतेदेखि लागू हुने गरी उनीहरू प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले खुलातर्फ नवनियुक्त हुनुभएका २७ जना मध्ये कार्यक्रममा उपस्थित २२ जना प्राविधिक प्रहरी निरीक्षकहरूलाई नियुक्ति पत्र समेत प्रदान गरे ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक कार्कीले खुला प्रतियोगिताबाट नेपाल प्रहरीको प्राविधिक समूहतर्फ प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका तथा प्रहरी सेवाका विभिन्न पदमा सेवारत रही आजै प्राविधिक प्रहरी निरीक्षक पदको दर्ज्यानी चिन्हबाट सुशोभित भएका प्राविधिक प्रहरी निरीक्षकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
नागरिक सेवामा समर्पित हुने उत्कट अभिलाषाका साथ प्रहरी सेवालाई रोज्नु भएकोमा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरूलाई नेपाल प्रहरी संगठनमा स्वागत गर्दै निरन्तर व्यावसायिक उन्नयनको शुभेच्छा समेत व्यक्त गरेका छन् ।
प्रहरी महानिरीक्षक कार्कीले शान्ति सुरक्षा कायम राख्न एवम् अन्य विविध जिम्मेवारी निर्वाहको क्रममा संगठनमा प्राविधिक सेवाको महत्त्व विस्तृत हुँदै गएको चर्चा गर्दै नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरूले सांगठनिक नीति, नियम र परिधिमा रही उत्कृष्टताका साथ प्रहरी सेवामा समर्पित रहने विश्वास व्यक्त गरेका छन् ।
प्रहरी संगठनको श्रीवृद्धिको लागि सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन समेत दिए ।
साथै आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरी योजनाबद्ध ढंगले कार्यसम्पादन गर्न सबै प्रहरी कर्मचारीहरू केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।







