काठमाडौँ । एमालेका नेता कार्यकर्तालाई पक्राउ र धरपकड गरिए सरकारविरुद्ध प्रतिकारमा उत्रन नेकपा एमाले कोशी प्रदेशले निर्देशन दिएको छ ।
कोशी इन्चार्ज एवं पार्टी सचिव शेरधन राईले भने, ‘सरकारले गर्न सक्ने धरपकड, आगजनी, लुटपाट र तोडफोडका विरुद्ध उभिन र निजी तथा सरकारी र सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिक सुरक्षाका लागि आन्दोलन र जिल्ला कमिटी मार्फत सम्पूर्ण पार्टी पङ्क्तिलाई शान्तिपूर्ण रूपमा खबरदारी गर्न, सद्भाव र्यालीहरू गर्न र विभिन्न स्वरूपका प्रदर्शन गर्न मातहतका जिल्लालाई आह्वान गर्दछु ।’
सरकारद्वारा गठित छानबिन समितिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयान लिने बताइरहेका बेला कोशी प्रदेश कमिटीले छानबिन आयोगले बयान लिने हैसियत नराख्ने बताएको छ ।
‘असंवैधानिक सरकार’ले ‘बयान लिने’ नाममा प्रतिशोधपूर्ण व्यवहार, धरपकडलगायतका अनुचित कार्यहरू गरे एक सेकेण्ड पनि सहेर नबस्ने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एमालेले चेतावनी दिएको हो ।
एमाले सचिव शेरधन राईले अहिले बनेको छानबिन आयोगले छानबिन गर्न सक्ने हैसियत नराख्ने बताए । उनले भने, ‘यो छानबिन समितिले पार्टी अध्यक्षलाई बयानमा बोलाएर प्रतिशोध साँध्ने तयारी गर्दै छ, सहेर एमाले बस्दैन ।’
सरकारले निर्वाचनको रटान लगाएर प्रतिशोध साँधे प्रतिवादमा उत्रन नेता तथा कार्यकर्तालाई सचिव राईले निर्देशन दिए ।
उनले भने, ‘सरकार प्रतिशोध साँध्न उद्यत देखिएको छ यसो भए आजैदेखि सम्भावित प्रतिगमनकारी हर्कत र षडयन्त्र विरुद्ध, लोकतन्त्र र संविधानको रक्षा गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले प्रदर्शन गर्छ ।’ उनले एमालेले गर्ने कार्यक्रम शान्तिपूर्ण हुने बताए ।
एमाले प्रदेश कमिटीले लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभाको पुनर्स्थापनासहित राजनीतिक सङ्कट समाधानका लागि सबैखाले प्रतिगमनकारी षडयन्त्रका विरुद्ध उभिन र ऐक्यबद्धता जनाउन सबै लोकतन्त्र प्रेमी राजनीतिक दल, बौद्धिक समुदाय, मानवअधिकारकर्मी, नागरिक समाज, उद्योगी, व्यवसायी, युवा, विद्यार्थीलगायतलाई आह्वान गरेको छ ।







