महोत्तरी । पालिका तथा वडाबाट प्रवाह हुने सेवा सुविधाहरू नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले मटिहानी नगरपालिकाले आजदेखि एकीकृत घुम्ती सेवा शिविर–२०८२ सञ्चालन गरेको छ।
एक कार्यक्रमबीच शिविरको औपचारिक उद्घाटन गर्दै नगर प्रमुख हरि प्रसाद मण्डलले पालिका र वडाबाट उपलब्ध सेवाहरूलाई एकीकृत रूपमा नागरिकसम्म सहज र प्रभावकारी ढङ्गले पुर्याउने लक्ष्यसहित शिविर आयोजना गरिएको बताए। उनले यसबाट स्थानीय नागरिकहरूले आफ्नै गाउँ–टोलमै आवश्यक सेवा प्राप्त गरी प्रत्यक्ष लाभ लिन सक्ने विश्वास व्यक्त गरे।
नगरपालिकाका अनुसार पौष ९ गते वडा नं. १ सिरसियाबाट सुरु गरिएको घुम्ती सेवा शिविर क्रमशः नगरपालिकाका सबै ९ वटै वडामा सञ्चालन गरिनेछ।
शिविरमार्फत योजना सम्बन्धी अभिमुखीकरण तथा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि दरखास्त संकलन, नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, कृषि प्रयोजनका लागि माटो परीक्षण, कृषि मिटर सिफारिस, तरकारीका मिनी किट वितरण, गोबर तथा गर्भ परीक्षण, पशुपन्छीसम्बन्धी परामर्श तथा औषधि वितरण, राजस्व असुली, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्तालगायतका सेवाहरू उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। साथै स्वास्थ्य बीमा सेवा पनि शिविरमार्फत प्रदान गरिने बताइएको छ।
नगर प्रमुख मण्डलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उप–प्रमुख मञ्जु देवी साह, वडा नं. १, ४, ५ र ६ का वडा अध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, लेखा शाखा प्रमुख विजय कुमार यादव, विभिन्न शाखाका प्रमुखहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, वडा सचिवहरू तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।







