काठमाडौँ। मुगु जिल्लामा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) को प्रकोप गम्भीर बन्दै गएको भन्दै स्थानीय युवाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमक्ष तत्काल विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन् । स्थानीय युवा आशिष देवकोटा नेतृत्वमा गएको युवाहरूको समूहले यस्तो माग गरेको हो ।
मुगु जिल्ला अस्पतालको कमजोर अवस्था र बढ्दो बिरामीको चापले स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै आपत्कालीन हस्तक्षेप अपरिहार्य भएको उनीहरूले बताएका छन् ।
स्थानीयका अनुसार हाल मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जा सम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन् । तर अस्पतालमा जम्मा ५० शय्या मात्र उपलब्ध छन् । लामो समयदेखि एक्सरे मेसिन बिग्रिएको छ, आवश्यक औषधि र मेडिकल उपकरणको गम्भीर अभाव छ भने अक्सिजन प्लान्टसमेत सञ्चालनमा नरहेको अवस्था छ । यसले गर्दा गम्भीर अवस्थाका बिरामीको उपचारमा ठुलो समस्या भइरहेको स्थानीयको गुनासो छ।
प्रकोपकैबीच १७ दिनभित्र राराछायानाथ नगरपालिका वडा नम्बर १२, बाम गाउँमा मात्रै ५ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये शिशु र साना बालबालिकासमेत रहेका छन् । यति गम्भीर अवस्था हुँदासमेत केन्द्र सरकारको स्पष्ट र प्रभावकारी हस्तक्षेप नदेखिएको भन्दै युवाहरूले प्रश्न उठाएका छन् ।
युवाहरूले मन्त्रीलाई बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहितको आपत्कालीन चिकित्सक, नर्स र प्राविधिक टोली २४ घण्टाभित्र मुगु पठाउन, बिग्रिएको अक्सिजन प्लान्ट र एक्सरे मेसिन तत्काल मर्मत वा प्रतिस्थापन गर्न, इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी पर्याप्त औषधि र उपकरण आपूर्ति गर्न माग गरिएको छ ।
साथै हालको ५० शय्या क्षमतालाई आपत्कालीन रूपमा आइसियु सेवासहित कम्तीमा १०० शय्यामा विस्तार गर्नुपर्ने माग पनि अघि सारिएको छ।
युवाहरूले २०६६ सालको जाजरकोट केन्द्रित झाडापखाला/हैजाको महामारीको स्मरण गराउँदै समयमै हस्तक्षेप नगर्दा ठुलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
मुगुमा फैलिएको इन्फ्लुएन्जा अब सामान्य स्वास्थ्य समस्या नभई राज्यको संवेदनशीलता र जवाफदेहिताको परीक्षा बनेको भन्दै स्थानीयले ढिलाइ नगरी तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग जोडदार माग गरेका छन् ।







