काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको निरीक्षणमा ट्रान्स फ्याटको मात्रा तोकिएको मापदण्डभन्दा बढी देखिएपछि ललितपुरस्थित नाङ्लो बेकरी प्रा.ली.ले उत्पादन गरेका क्रोइसन्ट र खजुरीको नेपालले उत्पादन गरेको ‘पफ’ नष्ट गरिएको छ।
विभागको निरीक्षण टोलीले ललितपुर महानगरपालिका-१४ गोदावरीस्थित नाङ्लो बेकरी प्रा.ली.मा गरेको अनुगमनका क्रममा ब्रेड, क्रोइसन्ट, पफ र डोनट उत्पादन भइरहेको पाएको थियो। सोही क्रममा अनुसन्धानात्मक प्रयोजनका लागि संकलन गरिएको क्रोइसन्टको नमुनामा ट्रान्स फ्याटको मात्रा उच्च देखिएपछि विभागले उक्त उत्पादन तत्काल ‘रिकल’ गरी नष्ट गर्न आदेश दिएको थियो।

जसअनुसार नाङ्लो बेकरी प्रा.ली.द्वारा उत्पादित १४० थान क्रोइसन्ट बजारबाट फिर्ता (रिकल) गर्दै स्थानीय तह, उद्योग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ।

त्यस्तै, परीक्षणका क्रममा ट्रान्स फ्याटको मात्रा बढी देखिएको भन्दै खजुरीको नेपालले उत्पादन गरेको ३२५ कार्टुनमा रहेको पाँच हजार दुई सय प्याकेट ‘पफ’ नष्ट गरिएको विभागले जनाएको छ।
प्रति प्याकेट एक सय ५० ग्राम तौल रहेको उक्त पफलाई धुलो (टुक्रा) पारी स्थानीय प्रतिनिधिहरूको रोहबरमा उद्योग परिसरभित्र रहेको खाली जग्गामा खाल्टो खनेर पूर्ण रूपमा नष्ट गरिएको हो।

विभागले सो उद्योगलाई उत्पादन प्रक्रियामा प्रयोग हुने कच्चा पदार्थहरूको गुणस्तर सुनिश्चित गरेर मात्र प्रयोग गर्न तथा उत्पादन भएका वस्तुहरूको गुणस्तर पुष्टि भएपछि मात्रै बजारमा बिक्री-वितरण गर्न निर्देशन दिएको छ।
विभागले ट्रान्स फ्याटको मात्रा उच्च देखिएको भन्दै विभिन्न बेकरी तथा खाद्य उद्योगका उत्पादनहरूको परीक्षण गर्दै आएको छ। अनुगमनकै क्रममा नाङ्लो बेकरी प्रा।ली।को क्रोइसन्टमा ट्रान्स फ्याट बढी भेटिएको भन्दै अनुसन्धान अघि बढाइएको थियो। त्यसैगरी, खजुरीको नेपालले उत्पादन गरेको ‘पफ’ र खजुरीमा पनि ट्रान्स फ्याटको मात्रा मापदण्डभन्दा बढी देखिएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार ट्रान्स फ्याटको अत्यधिक प्रयोगले मुटुरोग, उच्च रक्तचापलगायत दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने भएकाले यस विषयमा कडाइ गरिएको हो। विभागले उद्योग तथा व्यवसायीलाई तोकिएको मापदण्डअनुसार मात्रै उत्पादन गर्न र उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।

लगातार आएका यस्ता खाद्य निरीक्षण अधिकारीहरूका प्रतिवेदन र कारबाहीले बजारमा बिक्री भइरहेका तयारी खाद्य पदार्थको गुणस्तरप्रति नियामक निकायको निगरानी कडा बन्दै गएको संकेत गर्दछ। विभागले आगामी दिनमा पनि नियमित अनुगमन जारी राख्ने र मापदण्ड विपरीत उत्पादन गर्ने उद्योगमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ।
विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले दैनिक उपभोग्य खाद्य वस्तुहरूको परीक्षणमा विभागले कडाइ गरेको बताइन्। उनका अनुसार उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिने खाद्यवस्तुमा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने भन्दै परीक्षण, अनुगमन र कारबाहीको दायरा विस्तार गर्दै लगिएको बताएकी छिन् ।
उनले उद्योगी तथा व्यवसायीलाई तोकिएको मापदण्डअनुसार नै खाद्य पदार्थ उत्पादन तथा बिक्री-वितरण गर्न आग्रह गर्दै उपभोक्तालाई पनि सजग रहन अपिल गरिन्। “खाद्यवस्तु खरिद गर्दा लेबल, म्याद र गुणस्तरबारे सचेत हुनु उपभोक्ताको पनि दायित्व हो,” उनले भनिन्, “विभागले आफ्नो नियामक भूमिका कडाइका साथ निर्वाह गर्दै आएको छ र आगामी दिन अझ यसलाई विस्तार गरिने छ।”







