काठमाडौँ । जेन जेड आन्दोलनताका गृहमन्त्री रहेका काँग्रेस नेता रमेश लेखकले २३ भदौमा भएको जेन जेड आन्दोलनको क्रममा भएको मानवीय हताहतीको पीडाबोधले पदबाट राजीनामा दिएको बताएका छन् ।
जेन जेड आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा पूर्वनियोजित रूपमा घुसपैठ भएपछि हिंसात्मक बन्न पुग्यो । त्यसक्रममा थुप्रै मानवीय हतहती हुन पुग्यो । त्यो सुनेपछि असैह्य पीडा भयो । त्यही पीडा बोधका कारण मैले पदीय नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ उनले भने ।
आन्दोलनमा मानवीय हतहती भएकै दिन २३ भदौमै आफूले राजीनामा दिएको भन्दै उनले २४ गते मुलुकमा विध्वंस मच्चाइँदा आफू गृहमन्त्रीमा नरहेको बताए ।
‘मैले मान्छे मार भनेर आदेश दिन सक्छु ? त्यस्तो गलत कर्म मबाट हुन्छ ? हुँदैन,’ उनले भने, ‘आयोग त के सबैभन्दा ठूलो आयोग जनताको बीचमा उभिएर स्पष्टसँग भन्दै छु, २३ भदौमा हृदय विदारक घटना भएपछि पदीय नैतिकताको आधारमा त्यसै दिन गृहमन्त्रीबाट राजीनामा दिएको हुँ ।’







