काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बूले इलाम उपनिर्वाचनका क्रममा आफ्नो राजनीतिक निर्णयमाथि प्रश्न उठाउनेहरू नै अन्ततः रास्वपा मै समाहित हुनुले आफ्नो बाटो सही रहेको पुष्टि गरेको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै युवा नेता लिम्बूले विगतको पृष्ठभूमि र वर्तमान राजनीतिक ध्रुवीकरणको विश्लेषण गर्दै इलाम उपनिर्वाचनका बेला आफूलाई ‘पहिचान विरोधी’ कित्तामा उभ्याउन खोज्ने साथीहरू नै अहिले रास्वपाको अभियानमा जोडिनुलाई समयले दिएको न्यायका रूपमा चित्रण गरेका हुन् ।
लिम्बूले रास्वपा प्रवेश गर्दा आफूमाथि लागेका अनेकन् विशेषण र आलोचनाहरूको स्मरण गरेका छन् । उनले भनेका छन्, ‘म जुन आन्दोलनको जगमा थिएँ, सोही आन्दोलनका साथीहरूले मेरो निर्णयलाई ‘पतन’ भनेका थिए । पहिचानवादी मोर्चाको उम्मेदवारी मुख्यतः म र रास्वपा विरुद्ध लक्षित थियो ।’
विगतमा आफूलाई गलत मनोविज्ञानका आधारमा पहिचान विरोधी देख्ने नेतृत्व पंक्ति नै अहिले रास्वपामा समाहित भएको र त्यस प्रक्रियाको पहलकर्ता आफू स्वयं हुनुमा उनले खुसी व्यक्त गरेका छन् ।
साथै उनले आफूमाथि उठेका ‘म गलत थिएँ कि उहाँहरू ?’ भन्ने प्रश्नको जवाफ समयले नै प्रष्ट पारेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘रास्वपाको नेतृत्वमा वैकल्पिक राजनीति रोज्ने निर्णय सही थियो । साँघुरो घेराबाट फराकिलो राजनीतिक उडान सम्भव छैन भन्ने वास्तविकता सबैले आत्मसात् गरेका छन् । वर्तमानको आवश्यकतालाई नबुझी सुनिश्चित भविष्य तय गर्न सकिँदैन।’
आफ्ना पूर्व सहकर्मीहरूलाई ‘फराकिलो मैदान’मा स्वागत गर्दै उनले अबको बाटो ध्रुवीकरण र एकताको हुनुपर्नेमा जोड दिएका छन् । इतिहासको गौरवलाई वर्तमानको यथार्थसँग जोड्दै सुनिश्चित भविष्य निर्माणको महान् यात्रामा लामबद्ध हुन उनले सबैलाई आह्वान समेत गरेका छन् ।
गत वर्ष सम्पन्न इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा लिम्बू रास्वपाका तर्फबाट उम्मेदवार बनेका थिए । त्यस समयमा आफूलाई ‘कट्टर पहिचानवादी’ का रूपमा उभ्याउँदै लिम्बूविरुद्ध मोर्चाबन्दी गरेका र उनलाई पहिचान विरोधीको आरोप लगाएका प्राध्यापक महेन्द्र लावती र स्वतन्त्र उम्मेदवार बनेका डकेन्द्र थेगिम लगायतको समूह नै अहिले रास्वपामा समाहित भएको छ ।
त्यतिबेला लिम्बूलाई हराउन र उनको राजनीतिक कदमलाई ‘गलत’ साबित गर्न सक्रिय रहेको समूह नै अहिले एउटै झण्डामुनि आएपछि लिम्बूले यसलाई आफ्नो नैतिक जितका रूपमा लिएका छन् । उनले यस घटनाक्रमलाई ‘साँघुरो घेराबाट फराकिलो उडानतर्फको यात्रा’ भन्दै स्वागत गरेका छन् ।







