काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासका लागि समाजवादी एकता आवश्यक भएको बताएका छन्।
शुक्रबार संखुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित नेकपा संखुवासभाको एकता सन्देश सभा कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन्।
‘प्रचण्ड’ले गत भदौ २३ र २४ गते घटेका घटनापछि देश नै रहने-नरहने जस्तो गम्भीर अवस्था सिर्जना भएको स्मरण गरेका छन्। उनले सुगौली सन्धिपछिको इतिहासमै त्यो समय सबैभन्दा ठूलो संकट भएको बताए।
“नेपाल विश्वमै उदाउँदै गरेका दुई ठूला राष्ट्र चीन र भारतको बीचमा अवस्थित छ। त्यसैले अदृश्य शक्तिहरूले नेपाललाई कहिल्यै स्थिर हुन नदिई सधैँ अस्थिर बनाउने प्रयास गरिरहेका छन्,” उनले भने, “मुलुकप्रतिको माया, राष्ट्रप्रेम र नेपालको जटिल भू-राजनीतिक अवस्थालाई मध्यनजर गर्दै त्यसलाई रोक्न हामी समाजवादी एकतामा आएका हौँ।”
उनले वर्तमान कठिन परिस्थितिमा संविधान जोगाउन वामपन्थी र समाजवादी शक्तिहरूबीच एकता गरिएको बताए। समाजवादी एकता केवल एउटा पुस्ताको उपलब्धि नभई सम्पूर्ण आन्दोलनको रक्षा भएको उल्लेख गर्दै उनले देश विकासका लागि युवा मात्र होइन, बुढा र युवा सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।
त्यसैगरी, नेकपाका सह-संयोजक माधवकुमार नेपालले “आफू राम्रो भए सबै राम्रो हुन्छ” भन्ने भनाइ दोहोर्याए। राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताउँदै उनले देश प्रेमसहित परिवर्तनको पक्षमा युवाहरूले वकालत गर्नुपर्नेमा जोड दिए।
सह–संयोजक नेपालले सचेत र जिम्मेवार रूपमा आन्दोलनमा सहभागी भएका युवाहरूलाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता औँल्याए। निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गर्न अनिवार्य भएको बताउँदै समाजवादी पार्टीलाई सरकारमा पुर्याउने जिम्मेवारी आम जनताको भएको उनको भनाइ थियो।







