काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देशलाई सुशासनको मार्गमा लैजाने एक मात्र उपाय डिजिटल रोडम्याप भएको बताएका छन् ।
काठमाडौँमा आज आयोजित सेपिङ नेपाल डिजिटल फ्युचर अन्तर्गत ‘एआई पोलिसी एण्ड इन्डष्ट्री ग्रोथ’ सम्बन्धी छलफलमा मन्त्री खरेलले डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन सरकार लागिरहेको भन्दै आफ्नै कार्यकालमा रोडम्याप ल्याउने विश्वास व्यक्त गरे ।
साथै मन्त्री खरेलले डिजिटल नेपालको रोडम्यापका लागि बुँदागत सुझाव दिन आग्रह गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोड्न सञ्चार मन्त्रालयले पुलको भूमिका खेल्ने र सबै अल्झन हटाउने उहाँले प्रतिबद्धता व्यक्त गरे ।
सञ्चार मन्त्री खरेलले मुलुकको विकास र समृद्धिको आधार सूचना र प्रविधि क्षेत्र भएको बताउँदै यस क्षेत्रको विकासका लागि सबैको सहयोग आवश्यक हुने बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले सरकारले डिजिटल साक्षरता र साइवर सुरक्षामा लगानी बढाउँदै सुशासनतर्फ अगाडि बढ्नुपर्ने बताए ।
डिजिटल नेपाल फेमवर्कले शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा विशेष ध्यान दिएर नीति निर्माण र कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । कार्यक्रममा सहभागी सूचना प्रविधि क्षेत्रका प्रतिनिधिले नीति बनाउनुभन्दा बनेका नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।







