काठमाडौँ । मुगुको खत्याड गाउँपालिकाले सञ्चालन गरेको प्रारम्भिक बालबिकास शिक्षक पदपूर्ति परीक्षामा पूर्वनियोजित रूपमा प्रश्नपत्र चुहावट गरिएको आरोप लागेको छ। उक्त परीक्षामा मिलेमतोमा आफ्ना निकट व्यक्तिहरूलाई सफल बनाउने उद्देश्यले नाटकीय ढंगले परीक्षा सञ्चालन गरिएको दाबी गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) खत्याड गाउँ कमिटी, मुगुले खत्याड गाउँपालिकाको शिक्षक पदपूर्ति परीक्षामा भएको भनिएको संगठित भ्रष्टाचारविरुद्ध निर्णायक आन्दोलन घोषणा गरेको छ। पार्टीले २०८२ सालमा सञ्चालन गरिएको खुला प्रतिस्पर्धात्मक विषयगत परीक्षा प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै आपत्ति जनाएको हो।
एमाले खत्याड गाउँ कमिटीले जारी गरेको विज्ञप्तिमा शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई दलाली, नातावाद र पैसावादको अखडा बनाइएको उल्लेख गर्दै यसलाई सामान्य त्रुटि नभई संगठित भ्रष्टाचार, अधिकारको दुरुपयोग र सार्वजनिक अपराधको संज्ञा दिएको छ। योग्य, मेहनती र इमानदार उम्मेदवारहरूको भविष्य कुण्ठित पार्दै पहुँचवाला व्यक्तिहरूलाई लाभ दिलाइएको आरोपसमेत लगाइएको छ। पार्टीले उक्त शिक्षक पदपूर्ति परीक्षा तत्काल खारेज गर्न, प्रश्नपत्र चुहावटमा संलग्न सबै कर्मचारी, पदाधिकारी तथा राजनीतिक संरक्षणकर्तामाथि निलम्बनसहित कडा कानुनी कारबाही गर्न माग गरेको छ।
साथै निष्पक्ष र विश्वसनीय उच्चस्तरीय छानबिन आयोग गठन गर्न र भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन स्थानीय तहको परीक्षा प्रणालीमा आमूल सुधार गर्नुपर्ने माग अघि सारेको छ। मागहरू तत्काल सम्बोधन नगरिएमा गाउँपालिका कार्यालय घेराउ, तालाबन्दी, शान्तिपूर्ण तर निर्णायक सडक आन्दोलन, आवश्यक परे कानुनी लडाइँ तथा सशक्त जनदबाबका कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ। यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी खत्याड गाउँपालिकाले नै वहन गर्नुपर्ने एमाले खत्याड गाउँ कमिटीको भनाइ छ।
यस विषयमा गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाले गाउँपालिका अध्यक्षको एकलौटी निर्णयका कारण यस्तो समस्या उत्पन्न भएको बताइन्। कार्यपालिका बैठकमा यो विषय उठाउँदा पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ। आफू उपाध्यक्ष पदमा रहे पनि वडा सदस्यभन्दा कम पहुँच रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्। आफू अध्यक्षभन्दा बढी मत ल्याएर निर्वाचित भए पनि पालिकाका कुनै निर्णय प्रक्रियामा आफ्नो पहुँच नपुगेको उनको भनाइ छ।
अध्यक्षले पालिकाकै करार कर्मचारीसँग मिलेर यस्तो कार्य गरेको गाउँपालिका स्रोतले बतायो ।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष अज बहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्याय तथा वरिष्ठ शिक्षा अधिकृत थानेश्वर जैसीसँग प्रतिक्रिया लिन खोज्दा उनीहरू सम्पर्कमा आएनन्। यद्यपि गाउँपालिकाका सूचना अधिकारी टक्क बहादुर डाँगरले भने आफू बिदामा बसेकाले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए।







