काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले एमाले र काँग्रेस विभाजनको ठुलो डिजाइन बनाएको आरोप लगाएका छन्।
काठमाडौँमा पत्रकार सम्मेलन गरेर केपी ओलीको अनुहार लिएर चुनाव जान सकिँदैन भनेर पार्टीका नेताहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले बोल्न लगाएको दाबी गरे।
उनले भने, ‘हामीले महाधिवेशन सफल पारेपछि एमालेभित्र निरङ्कुशता छ, दासहरूको पार्टी हो भन्न थाले, यो कथा पटक कथा कसको हो तर गगनजीको मुखबाट बाहिर आयो। उहाँले यो बोलेर आफूलाई अभिनेताको रूपमा स्थापित गराउनु खोज्नुभयो।’
उनले आजको राजनीति पार्टी अध्यक्ष केपी ओलीकै वरिपरि घुमिरहेको जिकिर गरेका छन्।
उनले थपे, ‘एमाले विभाजन गर्न चाहना पूरा नभएपछि काँग्रेस विभाजन गराइएको छ। प्रमुख प्रतिस्पर्धी दल फुटेको कारणले हामीलाई धेरै सजिलो भएको छ। तर हामी खुसी छैनौँ। यो ग्राण्ड डिजाइनबाट विभाजन गराइएको हो। काँग्रेसको विभाजन नेपालको लोकतान्त्रिक र राष्ट्रियताको आन्दोलनमा दुखद छ।’







