काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नीति तथा प्रतिबद्धतासहितको वाचापत्र तयारीलाई तीव्र बनाएको छ । पार्टीका अनुसार फागुन महिनाको पहिलो साताभित्र उक्त दस्ताबेज सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको छ ।
पार्टी प्रवक्ता मनिष झाले फागुन २१ गते हुने निर्वाचनका लागि उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा वाचापत्र लेखन कार्य निरन्तर भइरहेको जानकारी दिए । उनका अनुसार पार्टीले यस उद्देश्यका लागि ‘वाचापत्र मस्यौदा कार्यदल’ गठन गरेको छ ।
उक्त कार्यदलमा डा. नन्दन यादव, डा. अरनिको पाण्डेलगायत विभिन्न क्षेत्रका विज्ञ तथा नेताहरूको सहभागिता रहेको जनाइएको छ । कार्यदलले पार्टीको नीति, दृष्टिकोण र शासन प्रणालीसम्बन्धी प्राथमिकताहरू समेट्ने गरी मस्यौदा तयार गरिरहेको प्रवक्ताको भनाइ छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको छ ।
पार्टीले वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने उद्देश्यसहित चुनावी अभियान अघि बढाइरहेको जनाएको छ ।







