काठमाडौँ । दुई सहसचिवको सरुवा गरिएको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले कृष्णप्रसाद आचार्य र गंगा बहादुर क्षत्रीलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।
केही दिनअघि मात्रै उपसचिवबाट सहसचिवमा बढुवा भएका आचार्य र क्षत्रीलाई बढुवा निश्चित भएसँगै गृह मन्त्रालयले सहसचिव प्रजिअ रहने जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको थियो। बढुवाको निर्णय टुंगिएपछि उनीहरूलाई केही दिनअघि मात्रै जिल्ला प्रशासनको नेतृत्व सम्हाल्ने गरी सरुवा गरिएको थियो।
जसअनुसार कृष्णप्रसाद आचार्यलाई पुस २२ गते बागलुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको थियो भने गंगा बहादुर क्षत्रीलाई रोल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको थियो।
बढुवा नियुक्तिसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा केही दिन हाजिर लगाएका दुवै सहसचिवलाई प्रक्रिया पूरा गरी पुनः गृहमै पठाइएको र गृहले यसअघि गरिएको सरुवाअनुसार नै तत्-तत् जिल्लाको प्रमुख जिल्ला अधिकारीमै यथावत् राखेको हो।
बढुवा नियुक्ति तथा पदस्थापनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आयोगबाट एकमुष्ट स्वीकृति लिइसकेको छ।







