नेपालको राजकाज, शासन र प्रशासनको सुधारको सम्बन्धमा ठूला-ठूला बहस भए । अध्ययन समिति, छानविन समिति, खोजविन कार्यदल के के को नामका समूह गठन गरेर प्रतिवेदन तयार गर्ने र गराउने काम भए । त्यस्ता प्रतिवेदनमा हावामा महल बनाउने सुझाव समेत समेटिए । हावामा महल बनाउने सुझाव तयार कर्ताहरू विज्ञ भएर आसन ग्रहण गर्दै हिँडेको पनि देखिएको छ । हावामा महल बनाउने प्रतिवेदन तयार गर्दै गर्दा प्रतिवेदन कर्ताहरूले आफ्नो प्रतिवेदनमा देशको क्षमता, देशको समस्या, देश भित्रैबाट हुने समाधान र नागरिकहरूको ज्ञान, सीप र क्षमताबाट मात्रै विकास र समृद्धि सम्भव छ भनेर लेख्न मात्रै छुटाएको हो ।
नेपालमा अर्थ नबुझिएका शब्दहरू “लब्ध प्रतिष्ठित, विद्, विज्ञ र अभियन्ता” को पगरी गुथिएकाहरूले आजसम्म खुट्याउन नसकेको तीन वटा विषयहरू छन्। पहिलो, विश्वका सबै देशलाई लागू हुने कुनै पनि राजकाज, शासन र प्रशासनको सञ्जीवनी बुटी हुँदैन । दोस्रो, शासन प्रणालीलाई अब्बल बनाउन सञ्जीवनी बुटी जस्तै समाधान दिन सक्ने लब्ध प्रतिष्ठित, विद्, विज्ञ वा अभियन्ता विश्वमा कुनै व्यक्ति हुँदैन । तेस्रो, आफ्नो देशको आवश्यकताको पहिचान गर्न सक्ने र समाधान गर्न सक्ने सोही देशको सरकार बाहेक अरु कोही हुँदैन । तीनवटा विषयको मतलब भने “समस्याको पहिचान र समाधान आफ्नै प्रणाली भित्रबाटै आफैले निकाल्नुपर्छ” भन्ने नै हो । यही मतलबको आधारमा स्रोत व्यवस्थापनको सानो तर निकै नै महत्त्वपूर्ण विषय “कार्यकक्ष व्यवस्थापन” को विषयमा केही कथुर्ने जमर्को गरेको छु ।
नेपालको प्रशासनिक क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण समाचार बनेको विषय कर्मचारीको सरुवा हो । सरुवा गर्ने सम्बन्धमा निजामती सेवा ऐन तथा नियमावलीले पर्याप्त प्रबन्ध गरेको छ । उक्त प्रबन्धहरू झुक्किने, भुलिने वा हराउने किसिमका छैनन् तथापि मापदण्ड बनाउने नाममा त्यसलाई बिरोल्ने र छिरोल्ने काम भने भएका छन्। यही बिरोल्ने र छिरोल्ने कामलाई संस्थागत गर्नको लागि नेपाल सरकारका कार्यालयलाई समेत क, ख, ग, घ वर्गमा बाढ्ने प्रतिवेदन तयार गरी सरुवामा हात्ती छिराउने कार्य भयो भनी भुक्त भोगीहरूले भनेको छरपस्ट सुनिएकै छ । चाहे जे सुकै होस् सरुवा गर्ने अधिकारको व्यापक प्रयोग गर्न सकिने भए पनि असिमिति दुरुपयोग गर्न भने सकिँदैन तर दुरुपयोग गरिरहेको अवस्थालाई भने अन्यथा भन्न पनि सकिँदैन । तर सरुवा किन गरिन्छ? र सरुवाले कर्मचारीलाई वृत्ति प्रणालीमा के गर्छ? भन्ने प्रश्नको जवाफ सरुवा गर्ने अधिकार प्राप्त अधिकारीबाट पाएको भने छैन । यस विषयमा छुट्टै बहस चलाउनु आवश्यक छ ।
सरुवा भएपश्चात् सचिव, महानिर्देशक, कार्यालय प्रमुख तथा आयोजना प्रमुखहरूको सरुवा भएको अफिसमा गएर गरिने दोस्रो काम भनेको “कार्यकक्षको कुर्सी फिराउने” नै हो । अझ कुनै कुनै अड्डामा हाकिमको त पहिलो काम नै कुर्सी फिराउने नै देखिन्छ । तेह्र वर्षको जागिरे अवधिमा बाह्र वटा कार्यालयको अनुभवको आधारमा हासिल गरेको दिव्य ज्ञान हो । बाह्र वटा कार्यालय मध्ये एउटा कार्यालयले मात्रै “कुर्सी फिराउने” दुस्ख नपाएको अनुभव समेत रहेको छ ।
कुर्सी फिराउने कार्यले पनि अर्थतन्त्र निकै चलायमान बनाउने रहेछ । दराज, टेबल, कुर्सी, सोफा, कार्पेट, पर्दा, बत्ती, सिलिङ्ग, भित्ताको रङ्ग, कम्प्युटर, कोट झुण्ड्याउने किलो लगायतका सबै कुरा फेर्दा बजार चलायमान हुने नै भयो । यहाँ स्मरण गर्नुपर्ने दुई महत्त्वपूर्ण कुरा छन् । पहिलो महत्त्वपूर्ण कुरा “फेरिएका भनेका कुनै पनि बस्तु अपवादमा बाहेक फेर्नुपर्ने अवस्थामा पुगेका होइनन् र हुँदैनन्” । दोस्रो महत्त्वपूर्ण कुरा “ती फेर्ने कोटेशनहरु आफ्नै नभए पनि आफ्ना जत्तिकैको गोजीबाटै आएका हुन् र यो आफ्नो खल्तीको आपूर्तिकर्ता छिराउने उपयुक्त अवसर पनि रहेछ” । उक्त कार्यले एकातिर ठूलो कार्यकक्षबाट निकालिएका त्यस्ता सामानहरूबाट साना कार्यकक्षमा बस्नेहरूको अभाव पूर्ति गर्न सकिने भयो भने अर्कोतिर गुडफ्राईडे मनाउने मेसो पनि मिल्ने भयो । यो विषय हेर्दा निकै सानो देखिए पनि यसले प्रशासकको मनोवृत्तिमा निकै ठूलो विचलन ल्याउने गरेको अनुभव रहेको छ ।
सिंहदरवार डुलेर मन्त्री, सचिव र सहसचिव तथा अन्य कर्मचारीहरूको कार्यकक्ष निरीक्षण गर्दा पनि निकै भिन्नता पाउन सकिन्छ । कोठाको आकार, नेम प्लेट, भित्र बाहिर लेखिएको बोर्ड, फर्निचरको गुणस्तर, कम्प्युटर तथा प्रिन्टरको ब्राण्ड, ल्यापटपको ब्राण्ड, टेबल तथा बस्ने कुर्सीको प्रकार, सिलिङ्ग तथा पार्केटिङ्ग, कार्पेट, गोप्यकोठा, निजी मिटिङ हल, अट्याच ट्वालेट, सवारी साधन र सवारी साधन भित्रको डेकोरेसन लगायतका सबै बस्तुहरू मन्त्रालय र कार्यालय अनुसार फरक फरक छन् ।
यो फरकपनाले गर्दा सरुवा भएर गएपछि पहिलेको अड्डाको भन्दा कम गुणस्तरको भए पहिले सरह बनाउन र पहिलेको जस्तै भए नयाँ भित्र्याउने होडबाजी चलेको देखिन्छ । बास्तुशास्त्रको आडमा बस्ने कुर्सी उत्तर वा पूर्व फिराउने त सामान्य नै भयो, यसमा गुनासो गर्नुपर्ने कुरा नै भएन, तर कुर्सी पूर्व वा उत्तर फिराएर नबसेर होइन कि कार्यसम्पादन अब्बल नभएर नतिजा ननिस्किएको हो भन्ने कुरा कहिले बुझ्ने हो पत्तो छैन ।
अव यो कुर्सी फिराउने दुस्ख र हैरानीबाट प्रशासकलाई मुक्ति दिलाउनको लागि तहगत अधिकारीहरूको कार्यकक्षको लम्बाई, चौडाइ, उचाइ, गहिराई यानकि आयतन बराबर, कोठाको आकार, नेम प्लेट, भित्र बाहिर लेखिएको बोर्ड, फर्निचरको गुणस्तर, कम्प्युटर तथा प्रिन्टरको ब्राण्ड, ल्यापटपको ब्राण्ड, ट्याबको ब्राण्ड, टेबल तथा बस्ने कुर्सीको प्रकार, सिलिङ्ग तथा पार्केटिङ्ग, कार्पेट, गोप्यकोठा, निजी मिटिङ हल, अट्याच ट्वालेट, सवारी साधन र सवारी साधन भित्रको डेकोरेसन सबै एकै प्रकारको पार्न जरुरी रहेको छ । वर्षमा कम्तिमा पनि तीनपटक हाकिमको सरुवा हुने अनि प्रत्येक पटक कुर्सी फिराउने कामबाट मुक्ति दिलाउनु आवश्यक छ।







