काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीको आगामी निर्वाचनका लागि तयार पारिँदै आएको घोषणापत्र अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
उनका अनुसार घोषणापत्रमा समयसीमा तोकेर कार्यान्वयन गर्न सकिने कार्यक्रमहरूलाई प्राथमिकताका साथ समेटिनेछ।
एमालेका उम्मेदवारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै पोखरेलले घोषणापत्रका मुख्य विषयवस्तुबारे अवगत गराएका थिए। उनले सुशासनलाई केन्द्रमा राख्दै भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य सेवा, शिक्षा प्रणालीको सुधार तथा रोजगारी सिर्जनासँग सम्बन्धित एजेन्डाहरू समावेश गरिने बताए।
उनका भनाइमा घोषणापत्र केवल प्रतिबद्धतामा सीमित नभई कार्यान्वयनका हिसाबले व्यवहारिक र मापनयोग्य हुने गरी तयार पारिँदै छ, जसले नीति र प्रशासनिक सुधारलाई अघि बढाउने लक्ष्य राखेको छ।







