सर्लाही। सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रमोद कुमार यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति नेपाल ईन्जिनियर्स एशोसिएसन, मधेश प्रदेश प्रादेशिक केन्द्र जनकपुरधामले गम्भीर आपत्ति जनाएको छ। संघले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न प्रशासनसँग माग गर्दै अन्यथा थप कडा कदम चाल्ने चेतावनी दिएको छ।
सोमबार जारी प्रेस विज्ञप्तिअनुसार सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा स्थायी घर भएका यादवलाई फागुन ३ गते साँझ करिब ८ बजे मलंगवा नगरपालिका-१० देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली प्रहार गरेको थियो।
संघले उक्त घटनालाई प्राविधिक समुदायमाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गर्दै सम्पूर्ण ईन्जिनियर तथा प्राविधिकहरू स्तब्ध र मर्माहत भएको जनाएको छ। विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।
मधेश प्रदेश प्रादेशिक केन्द्रका सभापति ई. गौरी पण्डित र सचिव ई. अजित कुमार मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्राविधिक जनशक्तिको सुरक्षा सुनिश्चित गर्न राज्यले विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
संघले शान्तिपूर्ण तर प्रभावकारी ढंगले न्यायको माग अघि बढाउने उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई दण्डित नगरे थप कार्यक्रम सार्वजनिक गरिने संकेत दिएको छ।








