काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ ।
आज जिल्लाको टेम्केमैयुङ गाउँपालिका-३ का आदित्य दर्नाललाई आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए । प्रजिअ पौडेलले भने, “बुबाको पहिचान नखुल्दा दर्नालले नागरिकता नपाएको अवस्थामा आज आमा वसन्ती दमाईंको नामबाट नागरिकता प्रदान गर्यौँ ।”
जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार आदित्यलाई ०९-०१-८२-०३८१० नम्बरको नागरिकता प्रदान गरिएको हो । आवश्यक प्रक्रिया र कागजात पुगेकाले प्रशासनमा आएर आमाको नामबाट नागरिकता लिन सक्ने जनाइएको छ ।
नागरिकता लिनका लागि जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै पतिको पहिचान नभएको भनी आमाले लिखित रूपमा स्वघोषणासमेत गरेको हुनुपर्ने व्यवस्था छ ।







