बरहथवा (सर्लाही) । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाके–संग्रामपुर सडकखण्डअन्तर्गत ठिल्ला नजिक तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार फागुन ६ गते बुधबार राति करिब ८ बजे हाल दिशा नखुलेका बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गौरीशंकरबाट प्रहरी सहायक निरीक्षक लिलानाथ मिश्राको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा परी चार जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल लगिएकोमा दुई जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा हरिपुर्वा नगरपालिका–९ बस्ने भरोसी रायका २२ वर्षीय छोरा विक्रम राय र सोही स्थानका ४२ वर्षीय राम विश्वास राय सामान्य घाइते भएका छन्। उनीहरूको मोडेल अस्पतालमा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा राखिएको सर्लाही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिएका छन्।
त्यसैगरी, हरिपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने सिंगेश्वर रायका करिब ३५ वर्षीय छोरा मुकेश रायलाई गम्भीर अवस्थामा राति ९ बजे प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा चिकित्सकले राति १० बजे मृत घोषणा गरेका थिए। सोही स्थानका रामछबिल्ला रायका करिब ३५ वर्षीय छोरा रामज्ञान रायलाई पनि गम्भीर अवस्थामा प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा चिकित्सकले राति १०ः०३ बजे मृत घोषणा गरेका छन्।
दुर्घटनामा संलग्न तीनै वटा मोटरसाइकल प्रहरी चौकी गौरीशंकरको नियन्त्रणमा रहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







