काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने’ पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति समर्थन जनाएको छ ।
आज बसेको राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले राजाको अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब भएको निष्कर्ष समेत निकालेको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले उनको निर्देशनमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा एवं काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको उपस्थित थिए। बैठकले राजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा देशवासीको नाममा दिइएको सन्देशमा व्यक्त विचारको स्वागत र समर्थन गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो’ भन्ने राजाको अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब हो । आम जनताको चाहना नै त्यही हो,’ राप्रपाले भनेको छ ।







