काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले स्वर्गद्वारी गुठीसँग सम्बन्धित मोही किसानको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
घोराही मा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आयोजना गरेको उम्मेदवारसँग अन्तरक्रिया तथा प्रतिबद्धता कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुठीसम्बन्धी विवाद दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका हुन्।
उनले यसका लागि कानुनी व्यवस्थापनतर्फ तयारी गरिएको भए पनि सम्बन्धित निकायको पर्याप्त सक्रियता नहुँदा प्रक्रिया अघि बढ्न ढिलाइ भएको उल्लेख गरे।
पोखरेलले गुठीसम्बन्धी समस्या व्यक्तिगत वा स्थानीय स्तरको मात्र नभई राज्यस्तरबाट सम्बोधन गर्नुपर्ने विषय भएको धारणा व्यक्त गर्दै यसका लागि राजनीतिक इच्छाशक्ति महत्वपूर्ण हुने बताए। कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा नीतिगत निर्णय कार्यान्वयनमा प्रभावकारिता कमी आएको उनको भनाइ थियो।
उक्त कार्यक्रममा उनले समस्याको प्रकृति बुझेको प्रतिनिधि जिम्मेवार स्थानमा पुगेमा समाधान सम्भव हुने धारणा राख्दै आफूले त्यसका लागि लिखित प्रतिबद्धता समेत जनाएको जानकारी दिए।







