काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–४ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार राजन भट्टराईले विगतमा निर्माण गरिएका भौतिक पूर्वाधारलाई अब गुणस्तरीय र प्रभावकारी बनाउनेतर्फ आफ्नो प्राथमिकता रहने बताएका छन्।
घरदैलो अभियानका क्रममा सञ्चारकर्मीसँग संवाद गर्दै उनले सडक सञ्जाल, ढल निकास, खानेपानी आपूर्ति तथा स्वास्थ्य सेवा संरचना जस्ता आधारभूत पूर्वाधारको निर्माण चरण धेरै हदसम्म पूरा भइसकेको उल्लेख गरे। अब ती संरचनाको व्यवस्थापन, स्तरोन्नति र सेवाको गुणस्तर सुधारमा केन्द्रित हुने उनको भनाइ थियो।
उनका अनुसार निर्वाचनका सन्दर्भमा पार्टीले सार्वजनिक गरेका राष्ट्रिय नीतिगत विषयहरूसँगै स्थानीय तहका आवश्यकता र समस्यालाई पनि प्राथमिकतामा राखिएको छ। देशमा केही सम्भव हुँदैन भन्ने निराश धारणा र युवावर्गमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने उद्देश्यले स्वरोजगार प्रवर्द्धनका कार्यक्रम अघि बढाइने उनले बताए।
रोजगारी विस्तारका लागि लगानीमैत्री वातावरण निर्माण, स्वदेशी पुँजी परिचालन वृद्धि तथा वैदेशिक लगानी आकर्षित गर्न नीति निर्माण तहमा प्रतिस्पर्धात्मक र आकर्षक व्यवस्था आवश्यक रहेको उनले उल्लेख गरे।
भट्टराईले सार्वजनिक प्रशासनमा सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। सेवा प्रवाहलाई सरल, पारदर्शी र नागरिकमैत्री बनाउने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको उनको जोड थियो।







