काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी झापा ५ का उम्मेदवार रञ्जित तामाङले आफूले उम्मेदवारी फिर्ता लिन लागेको भनेर अनेकौँ भ्रम र अफवाहहरू फैलाइएको बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीलाई छाड्ने चर्चापछि आज पत्रकार सम्मेलन गरेर उनले कहीँ कतै कुनै समयमा छोड्नको लागि उम्मेदवारी दर्ता नगराएको स्पष्ट पारे ।
यहाँ भएका सबै उम्मेदवारहरूलाई जनताको मतद्वारा पराजित गरेर जित्नको लागि उम्मेदवारी दिएको उनले बताए ।
उनले भने, ‘हामी कसैलाई छोड्दैनौँ। कतिखेरसम्म छोड्दैनौँ भने हामीले नजित्दासम्म छोड्दैनौँ। त्यसैले तपाईँहरूले पनि सुनिराख्नुभएको छ, बुझिराख्नुभएको छ सामाजिक सञ्जालहरूमा दोहोरो मारमा म परिराखेको छु।’
सामाजिक सञ्जालसँगै व्यक्तिगत हिसाबले पनि सम्बन्धित जिम्मेवार व्यक्तिहरूले तल–तल मतदाताहरूलाई भन्दै हिँडिरहेको बताए । उनले भने, ‘कहिले पूर्व प्रधानमन्त्रीले हामीलाई छोड्यो, तालमेल भयो आदित्यादि भनेर हल्ला चलाउनुभएको छ। भावी भनिएकाहरूले ’होइन हामीलाई छोड्ने हुनुभयो’ भनेर हल्ला चलाउनुभएको छ। हाम्रो पार्टीको आधिकारिक धारणा र सामाजिक सञ्जालहरूमा समेत मैले स्पष्ट गर्दै आएको छु ।’







