उठान,
उन्मादीहरूले आन्दोलनलाई जेनजीको हातबाट खोसे। त्यहीँबाट जेनजी सकियो, न त तिनको संगठन देखिएको छ, न त तिनले दर्ता गरे भनिएका दल चर्चामा छन्। तथापि जेनजीको भ्रष्टाचार विरोधी आन्दोलनको जगमा हामी चुनावमा होमिएका छौँ। सत्ता जनताले होइन, अदृश्य अल्गोरिदमले छान्ने हो कि भनी स्वतन्त्र विज्ञहरूको चिन्ता बाहिर आएको छ। अहिले नेपालमा चुनावको परिदृश्य छ। यतिवेला मौन अवधि छ। यो आवेगले होइन, धैर्यले निर्णय गर्ने अवधि हो। विरोध र नकारात्मक सीमित जानकारीले होइन, विवेक र विचारले निर्णय गर्ने अवधि हो। मौन अवधिको उद्देश्य मतदातालाई बाह्य कोलाहलबाट मुक्त राखी शान्त दिमागले स्वविवेक प्रयोग गर्ने समय दिनु हो। तर ह्वाट्सएप, म्यासेन्जर र भाइबर जस्ता डिजिटल नृत्य निर्वाचन आयोगका लागि नियमन गर्नै नसकिने माध्यम बनेका छन्। एक रातमै यति पैसा र शक्ति प्रयोग गरेर माहोल नै परिवर्तन भयो भन्ने विगतका निर्वाचनमा यदाकदा सुनिने जानकारीभन्दा कयौँगुना डरलाग्दो भएर यो नयाँ प्रविधियुक्त सनसनी व्यापक भएको छ।
प्रविधि, मान्छे र निर्वाचनको परिदृश्य,
मानिसले विवेक प्रयोग गरेर प्रविधिको सिर्जना गर्यो। साधना र मिहिनेतले प्रविधिको विकास हुँदै गयो। अहिलेको संसारमा विद्युतीय प्रविधि (डिजिटल टेक्नोलोजी) हरेक मानवको अभिन्न अंग बन्न पुगेको छ। यो विक्रम संवत् २०८२ को चुनावको जड (मूलतत्त्व वा कारण)मा पुग्ने हो भने नेपालको शासकीय स्वरूपको आलोचनात्मक चेत (विवेक)ले युवा पुस्तालाई प्रविधिमार्फत उत्तेजित बनाएको थियो। उत्तेजित युवाको कदमलाई अरूले पनि साथ दिएका थिए। साथ दिनेहरूको नियत हिलोमा माछा मार्ने जस्तो थियो भन्ने कुरा विमर्शको विषय भएको छ, भोलिका दिनमा स्पष्ट हुँदै जाला। तथापि सत्य के हो भने प्रविधिमार्फत उत्तेजित भिडको परिणाम सत्तामात्र पल्टिएन, ठूलो मानवीय, आर्थिक र भौतिक क्षति भयो।
अहिले हामी पल्टिएको सत्ताको व्यवस्थापनका लागि आम निर्वाचनको चरणमा छौँ। लेखक पशुपति रायको भनाइ (कान्तिपुर दैनिक, २०८२ फागुन १९) मा अमेरिकाको सिलिकन भ्यालीमा निर्माण गरिएको प्रविधि (सफ्टवेयर) को प्रयोग गरी चुनावी प्रचारप्रसार र चर्चा व्यापक भइरहेको छ। प्रत्यक्ष भेटघाट, विचार विमर्श र तर्कभन्दा ती प्रविधि सिर्जित सामाजिक (सिकेलालको भाषामा असामाजिक) सञ्जालमार्फत बढी भएको परिदृश्य छ। ती सामाजिक वा असामाजिक सञ्जाल जे–जे भनिए तापनि मेरो तर्कमा ती व्यक्तिगत सञ्जाल हुन्। व्यक्तिगत सञ्जाल किन भनिएको हो भने इको चेम्बर (इको चेम्बर) मा मान्छे बन्दी भएको छ, विशेषगरी नवयुवाहरू। वरिपरिका सबै सूचना र जानकारी उस्तै खालका खडा गरी भोट दिन र नदिनका लागि भ्रम सिर्जना गरिन्छ। सामान्यतया समालोचनात्मक सोच (क्रिटिकल थिङ्किङ) उसले गुमाइसकेको भन हुन्छ।
मानव पहिचानको सर्वाधिक महत्वपूर्ण पक्ष तर्क र विमर्श लुप्त अवस्थामा पुगेको प्रतीत हुन्छ।
यो समस्या नवयुवामा मात्र होइन, अरूमा पनि देखिएको छ। डिजिटल अल्गोरिदममार्फत प्राप्त तथ्य र प्रमाणहीन जानकारीले मानव मस्तिष्कमा उद्भ्रम सिर्जना गरी दिमाग अपहरणमा परेको छ। अदृश्य शक्ति, अदृश्य सफ्टवेयर र अदृश्य संसारको एक छेउबाट थाहै नपाई मानिस डिजिटल आक्रमणमा परेको छ। यसलाई मलजल कृत्रिम बौद्धिकता (एआई) द्वारा निर्मित नक्कली भिडियो (डिपफेक) ले गरिरहेको छ। मानिस सामाजिक प्राणी हो भन्न गाह्रो भइसकेको छ। ऊ त प्रविधिसँग एकाकार गर्ने र त्यसैलाई सत्य मान्ने व्यक्तिगत प्राणी भइसकेको छ।
विमर्श विनाको तर्कहीन उत्साह विगतमा केही भएन भन्ने भाष्यको वैशाखीमा संवेगात्मक उत्साहमा परिणत भइरहेको छ। यो लम्बिँदै र तन्किँदै उत्तेजित राष्ट्रवादको विषय बन्न पुगेको छ। बीस वर्ष घरगाउँ छाडेर गएको मान्छे, जुन अब नेपाल फर्केर आफ्नो कर्म गर्ने सम्भावना कम छ, ऊ सबैभन्दा ठूलो राष्ट्रवादी र देशभक्त बनेको छ। उसले ‘केही भएन’ को भाष्यको सहायताले प्रविधिमा रुलमुलिएर राष्ट्रियता र विकासको नयाँ तर्कविहीन काल्पनिक महल खडा गरी अरूलाई अर्ति–उपदेश दिइरहेको छ।
तर्क र विमर्श यति तिरस्कृत भएको छ कि मुलुकका अद्वितीय पहिचान र सम्पत्तिमा आक्रमण गरी ध्वस्त पारिएको प्रति उदासीनता छ, पीडा नै छैन। मान्छेले बिर्सिएको छ। ग्रेटवाल, ताजमहल, आयफिल टावर, पिरामिडहरूमा आगलागी भएको भए तत्–तत् देशका केन्द्रीय र स्थानीय सरकारले के गर्थे होला? सेनाले के गर्थ्यो होला? भन्ने विषयमा हामी छलफल नै गर्दैनौँ। विमर्श नै हरायो। डिपफेकले हाम्रो सिर्जनात्मक चेत अपहरण गरेजस्तो छ। विभिन्न तहका सरकारको संवेदनशीलताको हद हेर्दा रोम राज्य जलेको बेला निरोले त्यहाँका बादशाहले मुरली बजाएर रमाइलो गरेको परिदृश्यको सम्झना हुन्छ।
ज्ञानको उत्पादन र सत्य–तथ्यको जानकारीको टुङ्गो विमर्शबाट हुने हो। अल्गोरिदममा फिट गरिएका नतिजामा अभ्यस्त हुने संस्कारले मानवीयतामा ह्रास आउँछ। बौद्धिक बहसले मानिसको व्यक्तित्व विकासमा अभूतपूर्व योगदान गरेको हुन्छ। मान्छेलाई सिकाउँछ र निखार्छ। यो मानवको सर्वोत्तम पहिचान हो भन्ने कुरालाई बिर्सिएर यन्त्रबाट दिइएको परिणाममा रमाइरहेका छौँ। एक अनुसन्धानको निष्कर्ष (उत्तम र दिपकराज) अनुसार विमर्श विनाको उर्लिएको नयाँपन एक नाजुक वस्तु हो; भ्रष्टाचारविरोधी र सुशासनका चर्का भाषण चुनाव जित्ने शक्तिशाली मन्त्र भए पनि शासन सञ्चालन गर्ने वास्तविक संयन्त्रका लागि त्यस्तो कुरा अक्सर चटक मात्र साबित हुन्छ; धेरैजसो अवस्थामा अर्को चुनाव आउँदासम्म आम जनताको यस्तो उत्साह गहिरो निराशामा परिणत भइसकेको हुन्छ (सेतोपाटी, २ फागुन, २०८२)।
प्रविधिको परिदृश्य र परिणाम,
अहिलेको परिदृश्य एक असल शिक्षकले “विमर्श र अन्धअनुसरण” बीचको द्वन्द्व बुझाउन प्रयोग गर्ने गरेको पेनगुइनको बाटो बिराएको रोचक कथासँग ठ्याक्कै मिल्दो छ। पेनगुइनहरू उड्न नसक्ने तर पानीमा अत्यन्तै कुशलतापूर्वक पौडी खेल्न सक्ने जलचर चरा हुन्, जो मुख्यतया पृथ्वीको दक्षिणी गोलार्ध, विशेषगरी अन्टार्कटिकाको अत्यधिक चिसो वातावरणमा बसोबास गर्छन्। यसलाई सामाजिक प्राणीको रूपमा प्रस्तुत गरिन्छ र सामाजिक प्राणी भएकाले यिनीहरू ठूला–ठूला बथानमा बस्छन् र कडा जाडोबाट बच्न एक–अर्कालाई टाँसिएर न्यानो प्रदान गर्छन्। पेनगुइनहरू प्राकृतिक रूपमा आफ्नो बथानलाई पछ्याउँछन्। आजको डिजिटल दुनियाँमा फेसबुक, टिकटक वा युट्युबका अल्गोरिदमहरूले ठ्याक्कै यही काम गरिरहेका छन्। हामीलाई जे मन पर्छ, अल्गोरिदमले त्यही कुरा मात्र देखाइरहन्छ। यसले गर्दा हामी एउटै ‘बबल’ भित्र थुनिन्छौँ।
जब कुनै कुरा भाइरल हुन्छ वा धेरैले सेयर गर्छन्, हामी त्यसको सत्यता जाँच नगरी “सबैले भनेका छन्” भन्ने आधारमा विश्वास गर्छौँ। यो भनेको बाटो बिराएको पेनगुइनझैँ अर्कोले देखाएको बाटोमा अन्धाधुन्ध हिँड्नु हो। तर्क र विमर्श (डिस्कोर्स) बाट टाढा रहँदा मानिस अल्गोरिदमको दास बन्न पुग्छ। स्वयंको निर्णय क्षमता गुम्न पुग्छ। हामी आफैँ सोच्नुको सट्टा फिड (फिड) मा जे आउँछ, त्यसलाई नै सत्य मान्न थाल्छौँ। आफूलाई मन पर्ने कुरा मात्र सुन्दा समाजमा अर्को पक्षको कुरा सुन्ने धैर्यता हराउँछ। सबैले गरेको कुरा सधैँ सही हुँदैन। आफ्नो विवेक प्रयोग गरेर “म, हाम्रो समाज र मुलुक कता जाँदै छ?” भनी सोच्नु र आफूलाई मन नपर्ने तर तर्कपूर्ण कुराहरू पनि सुन्ने र पढ्ने बानीमा ह्रास आउनु व्यक्ति र समाजका लागि डरलाग्दो कुरा हो।
पेनगुइन त जनावर हुन्, उनीहरू प्रकृतिको नियममा बाँधिएका हुन्छन्। तर मानिससँग तर्क र विमर्श गर्ने क्षमता हुन्छ। यदि हामीले त्यो क्षमता प्रयोग नगरी केवल डिजिटल अल्गोरिदमको इशारामा मात्र चल्ने हो भने, हामी पनि अन्टार्कटिकाको बरफमा बाटो बिराएर हराएको पेनगुइनजस्तै बन्नेछौँ-जोसँग भीड त छ, तर गन्तव्य छैन।
अल्गोरिदमको वैज्ञानिक र दार्शनिक आधार
अल्गोरिदमले हाम्रो सोच्ने शैलीलाई कसरी प्रभाव पार्छ र यसले कसरी हामीलाई ‘पेनगुइन’ जस्तै बनाउँछ भन्ने बारेका वैज्ञानिक सत्यता छन्। हामी जब मोबाइल वा कम्प्युटरमा स्क्रोल गर्छौँ, प्रत्येक नयाँ र रोचक भिडियो वा पोस्टले मस्तिष्कमा डोपामिन लुप (डोपामिन लुप) नामक रसायन पैदा गर्छ। यसले हामीलाई तर्क गर्नभन्दा पनि “अब अर्को के आउँछ?” भन्ने उत्सुकतामा अल्झाइदिन्छ। धेरै विमर्श गर्नुपर्ने वा गहिरो सोच्नुपर्ने विषयहरू झन्झट लाग्न थाल्छन् र हामी सतही जानकारीमा मात्र रमाउन थाल्छौँ। अल्गोरिदमले जटिल विषयलाई सरल र उत्तेजक बनाएर पस्कन्छ। गहिरो अध्ययन र विमर्शका लागि समय लाग्छ, तर अल्गोरिदमले हामीलाई १०–१५ सेकेन्डको भिडियोमा बानी पारिदिन्छ। यसले गर्दा मानिसमा धैर्यता घट्दै गएको हुन्छ।
दार्शनिक प्लेटो भन्ने गर्थे- दर्शन (नीति) विनाको राजनीति राजनीति होइन। उनका चेला एरिस्टोटल भन्ने गर्थे- दर्शन र कार्यान्वयन गर्ने दुवै तागत राजनीतिमा हुनु पर्दछ। पूर्वीय दर्शनको चुरो कुरा पनि यही हो- ज्ञान र कर्म नभई राज्य सुखी हुँदैन। विमर्शबाट खारिएको ज्ञानले उत्पादन गरेको नीतिको सही कार्यान्वयन आजको आवश्यकता हो। त्यसैले लोकतन्त्रको मर्म व्यक्तिका निखारिएका विचार र विमर्शका निचोडलाई संस्थागत गर्नु हो।
हिरोइजम र संस्थागत पक्ष
हामी राम्रा व्यक्ति आए सबै ठीक हुन्छ भन्ने भ्रममा छौँ। लोकतन्त्र राम्रा व्यक्तिमा होइन, व्यवस्थित प्रणाली र संस्थागत पक्ष बलियो हुँदा जीवित रहन्छ। हामीलाई इमानदार नेताको होइन, बेइमान बन्न नसक्ने प्रणालीको खाँचो छ। तर अहिले चुनावलाई नागरिक दायित्वभन्दा पनि भाग्य बदल्ने अवसरजस्तो बनाइएको छ। राजनीतिक दलले लिने भोलिको सम्भावित नीति र प्रणालीमाथिको बहसभन्दा व्यक्तिको करिश्मालाई प्राथमिकता दिएको छ। यही प्रवृत्ति लोकतान्त्रिक मूल्य–मान्यताको सर्वाधिक खतराको विषय हो।
अनुभव विगत जीवनको पाठ हो, वर्तमान क्रिया हो, भविष्य सम्भावना र अवसर हो भन्ने सनातन कुरा भुलिएको छ। यसरी नै जीवन, जगत र मुलुक बनाउन सकिन्छ भन्ने कुरा हराएको छ। सत्य अल्गोरिदमको एकोहोरो जानकारी र विमर्श विनाको बुझाइको जोखिम देखिन्छ। नागरिक विवेकभन्दा प्रियवादमा अलमलिए भने राज्यले दुःख पाउँछ। प्रियवाद राज्यका लागि नयाँ विषय होइन। अठारौँ शताब्दीमा जर्मन दार्शनिक फ्रेडरिक नित्सेले निहिलिज्म (निहिलिज्म) वा शून्यवाद सम्बन्धी धारणा प्रस्तुत गरेका थिए। उनका अनुसार निहिलिज्म एउटा खतरनाक तर आवश्यक चरण हो। यदि मान्छेले आफ्ना पुराना विश्वासहरू भत्किएपछि नयाँ र आफ्नै मूल्य–मान्यताहरू सिर्जना गर्न सकेन भने चाँडै नै घोर निराशा उत्पन्न हुन्छ। पुरानोबाट हतासिएको उपज पूरै शून्यता भएमा चरम खतरा उत्पन्न हुन्छ। आफ्नो जीवनको अर्थ आफैँ खोज्ने र भीडको पछि नलागी आफ्नै विवेकले नयाँ मार्ग तय गर्नुपर्ने निष्कर्ष दिएका थिए दार्शनिक नित्सेले।
हामी खराबै छैनौँ,
नीतिगत कुरा: अर्थको अनर्थ नलागोस्, कुनै दलको पक्षमा उल्लेख गर्न खोजिएको होइन; खाली सत्यताको नजिक जाने प्रयास मात्र गरिएको हो। नेपालकै केही राजनीतिक दलले आफ्नो नीतिलाई लामो विमर्शबाट समृद्ध बनाएका छन्। उम्मेदवारको छनोटमा प्राइमरी इलेक्सन, उम्मेदवार चयन प्रक्रियामा सुधार जस्ता पक्ष उदाहरणीय छन्। त्यस्तै बहुदलीय लोकतन्त्रको भावना अनुसार चुनावी तालमेल नगर्ने, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सभासद जस्ता राजकीय पदमा १–२–३–४ को अवधारणा, डिजिटल र पारदर्शी अभिलेख, संवैधानिक निकायमा सुधार जस्ता पक्ष साँच्चै नै अनुकरणीय छन्। यसलाई दलको विषयको रूपमा मात्र हेर्न हुँदैन। यो त मुलुकको दृष्टिकोणको विषय हो।
विकासले निल्न लागेको लोकतन्त्र:
धेरै वर्ष पहिला म्यानमारकी स्वतन्त्रतावादी नेतृ आङ सान सुकीले नेपालको संसदमा उपस्थित भएर संसदलाई सम्बोधन गर्दा भनेकी थिइन्- अहिलेको विश्वमा लोकतन्त्रलाई विकासवादले कमजोर बनाएको छ। खासमा त्यसको अर्थ त्यतिवेला बुझिएको थिएन। सन्दर्भले त्यसतर्फ डोर्यायो। हाम्रो लोकतन्त्रमा देखिएको अर्को खतरनाक पक्ष विकासवाद हो। निर्वाचनका बेला विकासवाद हावी हुनु लोकतन्त्रका लागि सुन्दा राम्रो सुनिए पनि सैद्धान्तिक र व्यावहारिक रूपमा यो निकै जोखिमपूर्ण हुन सक्छ। लोकतन्त्र भनेको केवल बाटो, पुल वा भ्यु-टावर बनाउनु मात्र होइन; यो त एउटा प्रक्रिया मात्र हो। ठेकेदारलाई गाली गरेर भोट बटुल्नु पनि लोकतन्त्रको सापेक्षतामा हुँदैन। जब विकासवाद हावी हुन्छ, तब नागरिकले विधिको शासन, मानव अधिकार र पारदर्शिता जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूलाई बिर्सन्छन्। “जसले विकास गर्छ, उसले भ्रष्टाचार गरे पनि हुन्छ” वा “जसले बाटो बनाउँछ, उसले कानुन मिचे पनि हुन्छ” भन्ने सोच हावी हुनु लोकतन्त्रका लागि ठूलो खतरा हो।
निर्वाचनका बेला राजनीतिक दलहरूबीच शिक्षा, स्वास्थ्य, परराष्ट्र नीति र दीर्घकालीन सामाजिक सुधारका विषयमा बहस हुनुपर्छ। तर केवल विकासको नाराले यस्ता गम्भीर विषयहरूलाई ओझेलमा पारिदिन्छ। यसले गर्दा जनताले उम्मेदवारको बौद्धिक क्षमता र नीतिगत स्पष्टताभन्दा पनि उसले बाँड्ने ‘बजेट र योजना’ का आधारमा भोट हाल्ने गर्छन्। तर बाँड्ने बजेट कहाँबाट ल्याउने भन्नेबारे उनीहरू सोच्दैनन्। राज्यको ढुकुटी सञ्चय गरेर दीर्घकालीन रूपमा संस्था बलियो बनाउने कि बाँड्ने भन्ने कुरा विचारणीय पक्ष हो। प्रियवादीहरू जम्मा गर्ने कुरा गर्दैनन्। यसले राज्यको ढुकुटी अनुत्पादक क्षेत्रमा खर्च हुने र देश ऋणको पासोमा पर्ने जोखिम रहन्छ। विकासको नाममा कहिलेकाहीँ कार्यपालिका (सरकार) यति बलियो हुन खोज्छ कि उसले व्यवस्थापिका र न्यायपालिकालाई पनि आफ्नो बाटोको अवरोध ठान्न थाल्छ। विकासका लागि बलियो र निरंकुश शासक चाहिन्छ भन्ने भाष्य निर्माण हुनु नै उदार लोकतन्त्र समाप्त हुने पहिलो खुड्किलो हुन जान्छ।
साँचो अर्थमा भन्ने हो भने विकासवाद माथिबाट लादिएको टपडाउन निर्णय प्रक्रिया हो भने लोकतन्त्रको मर्म जनसहभागितामा आधारित बटमअप पक्ष हो। यसले नागरिकमा प्रश्न सोध्ने क्षमताको विकास गर्दछ। यहाँ विकास लोकतन्त्रको खराब पक्ष हो भन्न खोजिएको कदापि होइन। विकास आफैँमा खराब होइन, तर जब विकासलाई लोकतान्त्रिक मूल्य–मान्यता विस्थापन गर्ने हतियार बनाइन्छ, तब त्यसले नागरिकलाई केवल उपभोक्ता बनाउँछ, सचेत नागरिक बनाउँदैन। पेनगुइनले झैँ विकासको चमकधमक पछि लागेर बाटो बिराउँदा हामीले आफ्नो स्वतन्त्रता र अधिकार गुमाउन सक्छौँ। विकासवाद हावी हुँदा सचेत नागरिकलाई पनि अल्गोरिदममा रमाउने पेनगुइनजस्तै बनाउन सक्छ। जनताले विकासको लोभमा जब प्रक्रिया मिचिएको स्वीकार गर्छन्, तब बिस्तारै निरंकुशताले ठाउँ पाउँछ।
अन्त्यतिर,
यो निर्वाचनको मौन अवधि सूचनाले होइन, सूचनाको विश्लेषणको निचोडबाट उत्पादित ज्ञानले निर्णय गर्ने अवधि हो। व्यक्तिगत स्वार्थबाट टाढा रहेर पद्धति र देशलाई केन्द्रमा राखेर सोच्ने बेला हो। मूल कुरा स्वतन्त्र र स्थापित प्रबुद्ध वर्गले अहिले परचक्रीको दुष्चक्रमा पर्न लाग्यो भनेर चिन्ता गरिरहेका छन्। देशको स्वाधीनता, अखण्डता र सार्वभौमिकता संरक्षण गर्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने देखिन्छ। देश बिग्रिए सुधार्न सकिन्छ, तर देश नै अरूको दुष्चक्रमा पर्यो भने के होला?
अन्त्यमा,
प्रविधि जतिसुकै गुणस्तरीय भए पनि मानवीय विवेकको विकल्प दिन सक्दैन। विवेक प्रविधिबाट निर्देशित भएमा मानवीय व्यवहार यान्त्रीकरण हुन्छ, यसले अझ ठूलो विपत्ति निम्त्याउन सक्छ। डिस्कोर्डको दुरुपयोग गरी मुलुक ध्वस्त भएजस्तै प्रविधिको दुरुपयोग निर्वाचनमार्फत भएमा त्यसको परिणाम विदेशीको दुष्चक्रमा फसेको रूपमा हामीले भोग्नुपर्नेछ- दूरुपयोग गर्नेले होइन।







