काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्यका लागि आफ्नो दल तयार रहेको बताएका छन् ।
रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि शुभेच्छुकहरूलाई सम्बोधन गर्दै पुनले सुशासन, आर्थिक विकास र सामाजिक न्यायजस्ता क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका हुन् । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको १८ महिने सरकारमा आफूहरूले थालेको सुशासनको अभियानले निरन्तरता पाउनुपर्ने उल्लेख गरेका छन् ।
उनले मुलुकको राष्ट्रिय स्वाधीनता खतरामा रहेको तर्क गर्दै मुलुकको अस्तित्व रक्षाका लागि भूराजनीतिक संवेदनशीलता ख्याल गरेर परिपक्व कूटनीति सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
पुनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न नयाँ र पुराना राजनीतिक दलहरूले मिलेर काम गर्नुपर्ने औँल्याए ।
यस्तै जनताका आकांक्षाहरुलाई सम्बोधन गर्न तथा संविधान र व्यवस्थाको रक्षा एवं सुदृढीकरणका लागि सबै मिलेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट गरे । फरक प्रसंगमा उनले जनप्रतिनिधिका रूपमा रोल्पा र रोल्पाली जनताका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
आफूलाई मत दिने र नदिने तथा पार्टीभित्र र बाहिरका सबैलाई समान व्यवहार हुने पनि बताए । जिल्लाको विकासका लागि नेतृत्व र पहल लिने प्रतिबद्धता पुनले व्यक्त गरेका छन् ।







