काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई सम्मान गरेको छ । नगरपालिकाभित्र सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई नगरपालिकाले एक-एकथान ल्यापटपसहित सम्मान गरेको हो ।
गतवर्ष अर्थात् २०८१ को एसइईमा उत्कृष्ट अंक ल्याउने एउटै विद्यालय फुङ्लिङ नगरपालिका-९ हाङदेवास्थित सांक देछ्योलिङ गोन्पा विद्यालयका छात्र छात्रा सम्मानित भएका छन् ।
नगरपालिकाभित्र उत्कृष्ट अंक ल्याउने गोन्पा विद्यालयका छात्र लार्के शेर्पा र छात्रा पेम्बाछिकी शेर्पा सम्मानित भएका छन् । छात्र लार्केले ३.९१ जिपिए र छात्रा पेम्बाछिकीले ३.७४ जिपिए ल्याएर एसइई उत्तीर्ण गरेका थिए ।
सम्मानित विद्यार्थीलाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझालगायतले सम्मान पत्र र ल्यापटप वितरण गरेका छन्।
नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट एसइइमा उत्कृष्ट अंक प्राप्त गर्ने एक छात्र र एक जना छात्रालाई हरेक वर्ष सम्मान गर्ने नीति तथा स्वीकृत कार्यक्रमअनुसार विद्यार्थीलाई सम्मान गरिएको नगरपालीकाले जनाएको छ ।







