काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न लागेका प्रहरी उपरीक्षक (एसपी)हरूलाई निष्पक्ष, अनुशासित र परिणाममुखी भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक केसीले समसामयिक सुरक्षा चुनौती, व्यावसायिक आचरण, नेतृत्वको भूमिका, जवाफदेहिता तथा संगठनका नीतिगत प्राथमिकताबारे निर्देशन दिएका हुन् ।
उनले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै इमानदारी र निष्पक्षताका साथ जिम्मेवारी निर्वाह गरी नेपाल प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्न जोड दिएका छन् ।
कार्यक्रममा काठमाडौँ उपत्यकाबाहिर कार्यरत प्रहरी उपरीक्षकहरू पनि भर्चुअल माध्यमबाट सहभागी भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।








