काठमाडौँ। नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्योल केही हदसम्म कम गरे पनि राजनीतिक स्थिरताको विषय अझै समाधान हुन बाँकी रहेको बताएकी छन्।
११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मोतिदेवी स्मृति केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरिन्। देशको भविष्य कस्तो हुन्छ भन्ने विषयमा आम नागरिकमा रहेको चासोलाई सम्बोधन गर्न सबै नेपालीबीच एकता आवश्यक रहेको उनले बताइन्।
देश रहे मात्र नागरिकको अस्तित्व सुरक्षित रहने भन्दै उनले सबैलाई देशप्रेम र आपसी एकताको भावना विकास गर्न आग्रह गरिन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्य हासिल गर्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
समाजवादको लक्ष्यमा पुग्न शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण परिवर्तन आवश्यक रहेको उनले उल्लेख गरिन्। त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा उनले देशको समृद्धि, सुशासन र न्याय सुनिश्चित गर्न नेपाली महिलाहरू राजनीतिक दलको सीमाभन्दा माथि उठेर एकजुट हुनुपर्ने आवश्यकता औँल्याइन्। महिलाहरू फरक-फरक दलमा आबद्ध भए पनि राष्ट्रिय मुद्दामा उनीहरूको साझा आवाज हुनुपर्ने उनले बताइन्। साथै, संविधानले महिलाका अधिकार सुनिश्चित गरिसकेको सन्दर्भ उल्लेख गर्दै अब महिलाहरूले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनले स्पष्ट पारिन्।







