काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गुणाकर भट्टले पश्चिम एसियालाी देशहरूमा देखिएको संकटले मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष रूपमै असर गर्ने बताएका छन्।
आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा द्वन्द्वका कारण कच्चा तेलको मूल्यवृद्धि भइरहेको र त्यसले नेपाली अर्थतन्त्रमा समेत प्रत्यक्ष असर गर्ने बताएका हुन् । उनकाअनुसार धेरै लामो समयसम्म द्वन्द्व रह्यो भने नेपालसहित विश्वभर नै जोखिम बढाउने देखिन्छ ।
अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएअनुसार युद्धका कारण एक ब्यारलको १० प्रतिशतले मूल्यवृद्धि हुन्छ भने ०.४ प्रतिशत क्वाइन्टले मुद्रास्फीति बढ्छ । त्यसरी हेर्दा ०.१५ प्रतिशत क्वाइन्टले आर्थिक वृद्धि घट्छ भनेर अन्तर्राष्ट्रिय मुद्रा कोषले भनेको छ । उनका अनुसार द्वन्द्व लामो समय रही रहे २५ प्रतिशतले तेलको मूल्य बढ्ने खतरा छ ।
अहिले युद्धका कारण भारत, नेपाललगायतका देशमा ग्यास होल्ड गर्ने प्रवृत्ति देखिएको छ । यसले बिस्तारै अभाव बढ्न सक्ने उनले बताए । युद्धका कारण खाद्यान्नदेखि ग्यासहरू जोहो गर्न मानिसहरू लाग्दा ती वस्तुहरूको कृत्रिम अभाव खडा गर्न व्यवसायीहरू समेत लाग्न सक्ने भट्टले बताए ।
उनकाअनुसार मुद्रास्फ्रीतिको असर सबैभन्दा बढी तल्लो वर्गका मान्छेमा पर्छ । मूल्यवृद्धि हुँदा बित्तिकै गरिबीदेखि आय असमानता समेत बढ्ने खतरा रहेको उनले बताए । विश्वमा भइरहेका युद्धका कारण नेपालको आर्थिक वृद्धिदरमा समेत असर परिरहेको पूर्वकार्यकारी निर्देशक भट्टले बताए ।
भट्टले द्वन्द्वका कारण मुलुकमा आउने रेमिट्यान्समा समेत गिरावट आउन सक्ने खतरा रहेको बताए । उनका अनुसार पश्चिम एसियाली देशमा मात्रै ४० प्रतिशत नेपाली कामदारहरू कार्यरत छन् । उनीहरू प्रभावित हुन बित्तिकै रेमिट्यान्स कम हुने र आगामी दिनमा विदेशी सञ्चितिमा समेत गिरावट आउने खतरा रहेको उनले बताए ।
विदेशी सञ्चिति कमजोर हुँदा आगामी दिनमा दातृ निकायहरूले समेत सहायताका लागि नपत्याउने स्थिति बन्न सक्ने भट्टले बताए। युद्धका कारण वैदेशिक रोजगारी प्रभावित हुँदा नेपालमा रहने श्रमिकहरूको व्यवस्थापन ठूलो चुनौतीपूर्ण बन्ने सक्ने उनको भनाइ रहको छ ।







