काठमाडौँ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावको प्रभाव अन्तर्राष्ट्रिय हवाई सेवामा देखिन थालेको छ। यसैक्रममा क्याथे प्यासेफिक एयरलाइन्सले दुबई र रियाद गन्तव्यतर्फका आफ्ना सबै उडानहरू आगामी अप्रिल ३० सम्मका लागि रोक्ने निर्णय गरेको छ।
एयरलाइन्सले सार्वजनिक गरेको सूचनामा यात्रु सुरक्षालाई केन्द्रमा राख्दै यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ। साथै, क्षेत्रीय परिस्थितिको विकासअनुसार उडान तालिकामा थप परिमार्जन हुन सक्ने सम्भावनासमेत औँल्याइएको छ।
क्याथे प्यासेफिकले काठमाडौँ-हङकङ सिधा उडान भने यथावत् सञ्चालन गरिरहेको जनाएको छ।
हाल इरान, अमेरिका र इजरायलबीचको द्वन्द्वका कारण खाडी क्षेत्रका देशहरूमा प्रत्यक्ष प्रभाव परेको छ । जसले अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा व्यापक असर पारिरहेको छ। विशेषतः मध्यपूर्वका प्रमुख ट्रान्जिट केन्द्रहरूतर्फ हुने उडानहरू अवरुद्ध वा पुन:समायोजन गर्नुपर्ने अवस्था आएको छ।
दुबई र रियादजस्ता व्यस्त अन्तर्राष्ट्रिय गन्तव्यहरूमा उडान सञ्चालन चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा विभिन्न एयरलाइन्सहरूले सेवा स्थगन वा तालिका परिवर्तन गर्न बाध्य भएका छन्।
यस परिस्थितिमा एयरलाइन्सहरूले यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा अद्यावधिक गर्न र सम्बन्धित सेवा प्रदायकसँग सम्पर्कमा रहन आग्रह गरेका छन्।







