काठमाडौँ । नयाँ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो पुरानो प्रतिबद्धता पुनः स्मरण गराएका छन् । उनले ‘रिमाइन्डर’ भन्दै दोस्रो दिन बिहानै उक्त सामग्री पुनः सेयर गरेका हुन् ।
मन्त्री पौडेलले उक्त सन्देश यसअघि मार्च ८ मा सार्वजनिक गरेका थिए । सो सन्देशमा उनले आगामी पाँच वर्ष आफूले नगर्ने कामहरूको सूची सार्वजनिक गर्दै व्यक्तिगत, राजनीतिक वा अन्य कुनै प्रभावका आधारमा निर्णय नलिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले जागिर, नियुक्ति, सरुवा वा बढुवाका लागि सिफारिस नगर्ने, शैक्षिक संस्थामा स्कलरसिपका लागि दबाब नस्विकार्ने, ट्राफिक नियम उल्लङ्घनपछि कारबाहीबाट जोगाउन हस्तक्षेप नगर्ने तथा आपराधिक गतिविधिसम्बन्धी मुद्दामा भनसुन नगर्ने स्पष्ट उल्लेख गरेका छन् ।
यस्तै, सीमान्तकृत समुदायमाथि हुने हिंसाका घटनामा सम्झौता नगरिने, ठेक्कापट्टा तथा टेन्डरमा हस्तक्षेप नगर्ने, विश्वविद्यालय वा प्राज्ञिक संस्थामा मनोनयनका लागि दबाब नलिने तथा कुनै पनि प्रकारका प्रलोभनमा नपर्ने उनको प्रतिबद्धतामा उल्लेख छ ।
मन्त्री पौडेलले सरकारी सेवा छिटो गराइदिन दबाब नस्विकार्ने, सार्वजनिक स्रोतसाधन निजी प्रयोजनमा प्रयोग नगर्ने, विकास बजेट वितरणलाई समानुपातिक बनाउने तथा पदको दुरुपयोग गरी कसैलाई दबाब वा प्रतिशोध लिन सहयोग नगर्ने पनि स्पष्ट पारेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त सूचीमा निजी निमन्त्रणा तथा व्यक्तिगत अपेक्षाबाट टाढा रहने सङ्केतसमेत दिएका छन् । साथै, दुःख वा शोकका समयमा भने आफू सक्दो उपस्थित हुने उल्लेख गरेका छन् ।







